दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ: प्रधानमन्त्री

डिसी नेपाल
१० वैशाख २०८१ १६:१३

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा उल्लेख समाजवाद उन्मुख राज्य निर्माणका लागि सबै दलहरु एकताबद्ध हुन आह्वान गरेका छन्।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको हित र जनताले महशुस गर्ने गरि मुलुकको परिवर्तनलाई संस्थागत गर्दै समाजवाद उन्मुख राज्य निर्माणका लागि सबै दलहरु एकताबद्ध हुन आह्वान गरेका हुन्।

उनले अहिले पनि मुलुकको परिवर्तनलाई प्रहार गर्ने प्रयास भइरहेको भन्दै त्यसकाविरुद्ध लोकतन्त्रलाई सुदृढ गराउने चूनौति सबै दलहरुमाथि रहेको धारणा राखे। सबै दलहरुले एकअर्काका योगदानहरूलाई सम्मान गर्दै विगतका कमिकमजोरीहरुलाई हटाउन समिक्षा गर्नुपर्ने उनले बताए। आगामी दिनमा अझ उन्नत विचार विकास गरेर जनता राष्ट्रको पक्षमा उभिने संकल्प गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै प्रचण्डले कम्युनिष्टहरुबीचको एकताले उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेपनि विभाजित भएपछिको तिता अनुभव रहेको भन्दै पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्ष नरहेको स्पष्ट पारे।

उनले विभिन्न उतारचढावबीच अहिले सहकार्य गर्ने वातावरण तयार भएको र यसबाट देश र जनतालाई राम्रो सेवा हुनसके राजनीतिक दलहरुबीच एकताको आधार तय हुने धारणा राखे। प्रचण्डले संविधान कार्यान्वयन र समाजवादको आधार तयार गर्ने बिन्दुमा रहेकाले इमान्दार पूर्वक लाग्नुपर्ने भन्दै अहिले पनि कम्युनिष्ट पार्टीहरु एक हुने हो भने निर्णायक शक्ति बन्ने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *