कतारी राजा सोल्टीमा बस्ने, द्वारिकामा दिवाभोज

कतारका राजाको सुरक्षा कमाण्ड भावी सेनापतिलाई

डिसी नेपाल
११ वैशाख २०८१ १०:३१

काठमाडौं। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा नेपाली सेनाका भावी प्रधानसेनापति अशोकराज सिग्देलले कमाण्ड गर्दैछन्। आज साँझ ५ः३० मा नेपालको औपचारिक भ्रमणमा आउन लागेका कतारी राजा थानीलाई उच्च महत्व दिँदै रथि सिग्देलले सुरक्षाको कमाण्ड गर्दैछन्।

उनीसँगै काठमाडौ उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापा, सशस्त्र प्रहरी पशुपति बाहिनीका प्रमुख डिआइजी पुरुषोत्तम थापापनि खटिएका छन्। नेपाल प्रहरीबाट डिआइजी पोषराज पोखरेलको गाडीले ट्राफिक कमाण्ड गर्नेछन्।

विमानस्थलमा ओर्लनसाथ राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेपछि रथि सिग्देलको गाडीले दायाँ बाँया सुरक्षा दिएर उनलाई होटल सोल्टीको स्वीट रुममा पुर्‍याउनेछ। नेपाल टेलिकमको जामरसहितको गाडी सडकमा हुने भएकाले विमानस्थलबाट सोल्टीसम्मको क्षेत्रमा आधा घण्टा सञ्चारसेटमा अवरोध हुनसक्ने सम्भावना रहेको छ।

राजा थानीको भ्रमणका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ।

दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका राजा थानीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु सोमबारबाटै परिचालित भएका थिए।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार एक हप्ताअघि देखि नै काठमाडौं उपत्यकाको सुरक्षा तयारी थालिएको थियो। नेपाल प्रहरीका मातहतको युनिटहरू, विशेषगरी उपत्यका प्रहरी कार्यालय, त्यसअन्तर्गतका वृत, प्रभाग सबैलाई हाइ अलर्टमा राखिएको थियो।

अवाञ्छित क्रियाकलाप हुनसक्ने स्थानमा निगरानी बढाइएको थियो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले भीभीइपी पाहुनाको सवारी व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका लागि संयुक्त सुरक्षा योजना बनाएको थियो।

जिल्ला सुरक्षा समितिसँग छलफल गरेर सुरक्षा योजना तयार पारेको थियो। सुरक्षा योजना अनुसार नै सुरक्षाकर्मी परिचालन गरिएको छ। जनशक्ति परिचालन, ट्राफिक परिचालनलगायतमा चुस्त व्यवस्था बनाइएको छ। हेडक्वाटरमा रहेका प्रहरीसमेत अलर्ट अवस्थामा रहनेछन्।

मोबाइल र इमर्जेन्सी गस्ती बढाइएको छ। राजा थानीसँगै ६ जना मन्त्रीहरू पनि नेपाल आउँदैछन्। थानी मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा आजै साँझ राजकीय भोजको आयोजना गर्दैछन्। दिवा भोजको अयोजना भन होटल द्वारिकामा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *