इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै

डिसी नेपाल
१७ वैशाख २०८१ ५:२१

इलाम। इलाम निर्वाचन क्षेत्र-२ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार अग्रता लिइरहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्।

हालसम्म फाकफोक थुमको गणना सकिँदा नेम्वाङले ५ हजार २७ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेदवार डम्वर बहादुर खड्काले ३ हजार ७ सय ५९ मत प्राप्त गरेका छन्। १२ सय बढीको मतान्तरले नेम्वाङ खड्का भन्दा अघि छन्।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्वुले १ हजार ९ सय ९६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्वुले ७ सय ६० मत प्राप्त गरेका छन्।

इलामको फाकफोकथुम गाउँपालिकाको मत गणना सम्पन्न भएसँगै इलाम-२ मा अब पाँच पालिकाको मत गणना बाँकी छ। अहिले चुलाचुली गाउँपालिका-१ को मतगणना सुरु भएको छ।

इलाम-२ का चुलाचुलीसहित मांङ्सेबुङ, माई नगरका तीन वटा वडा (वडा ६, ७, ८), इलाम नगरपालिका र देउमाई नगरपालिका गन्न बाँकी छ।

यसैगरी बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा/थलारा वडा नम्बर ९ र खप्तडछान्ना गाउँपालिका र जयपृथ्बी नगरपालिका-६ सम्म आइपुग्दाको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारको अग्रता कायमै छ।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ४ हजार ६ सय ६८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ४ हजार ५ सय ८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ५ सय ३३ मत प्राप्त गरेका छन्।

त्यसैगरि नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक हजार ६ सय ५८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *