श्रमिकको अवस्था सन्तोषजनक छैन: श्रममन्त्री अर्याल

डिसी नेपाल
१७ वैशाख २०८१ २२:४७

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेपनि देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था सन्तोषजनक नरहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट ट्रेड युनियनका प्रतिनिधिहरूसँग आज भएको छलफलमा उनले श्रमबजारमा पर्याप्त र सम्मानजनक रोजगारको अवसर सृजना हुन नसकेकाले श्रमशक्तिको आपूर्ति र मागमा ठूलो अन्तर रहेको बताए।

मन्त्री अर्यालले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षाका लागि केही कानुनी व्यवस्था भए पनि अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे। सरकारले उनीहरूको हकअधिकार र पेसागत सुरक्षाका लागि ट्रेड युनियनसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा युनियनका अध्यक्ष विष्णु लम्सालले श्रम बजारमा वार्षिक पाँच लाखभन्दा बढी श्रमशक्ति थपिने गरेको बताउँदै मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न आग्रह गरे।

औपचारिक क्षेत्रमा करिब पाँच प्रतिशत र अनौपचारिक क्षेत्रमा ९५ प्रतिशत श्रमशक्ति कार्यरत रहेको जनाइएको छ। सो अवसरमा युनियनका प्रतिनिधिमण्डलले श्रम बजार वृद्धि, श्रमिकको सेवासुविधालगायत विषयमा मन्त्री अर्याललाई ध्यानाकर्षण गराएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *