वन्यजन्तु तस्कर तामाङ नेपाल र भारत दुवै देशका अपराधमा दोषी ठहर, वैशाख २७ मा सजाय तोकिने

डिसी नेपाल
१९ वैशाख २०८१ १२:५३

काठमाडौं। नेपाल-भारत दुवै देशको अपराधमा दोषी देखिएका वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई विशेष अदालतले केही दिन  अघिदोषी ठहर गरेको छ।

वन्यजन्तु तस्करीबाट आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतले तामाङलाई दोषी ठहर गरेको हो। सम्पत्ति शुद्धीकरणमा दोषी देखिएपछि सजाय निर्धारणको अर्को पेसी तोकेको छ।

उनी विरुद्ध परेको मुद्धामा लामो समय बहस गरेपछि उनलाई दोषी ठहर गरेको हो।  विशेष अदालतले एक वर्षअघि दायर मुद्दामा कसुर कायम गर्दै सजाय निर्धारणको पेसी तोकेको हो।

विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार २७ वैशाख २०८१ मा उनीमाथि सजाय निर्धारण हुनेछ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला भएको हो।

कुन्जोकमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ जेठ ०८० मा मुद्दा दायर गरेको थियो। उनले वन्यजन्तुको अखेटोपहार ओसारपसारसमेत गरी गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको हो।

विशेषलाई प्राप्त प्रमाणबाट उनले सात करोड १४ लाख रुपैयाँभन्दा बढी व्यय तथा आर्जन गरेको भेटिएको थियो। जसमध्ये ६ करोड ४७ लाख रुपैयाँ उनको वैध आय छ भने स्रोत पुष्टि हुन नसकेको ६७ लाख ६५ हजार रुपैयाँ कसुरबाट आर्जित रहेको इजलासको निष्कर्ष छ।

विशेषले उनलाई एकदेखि चार वर्षसम्म सजाय हुन सक्ने भन्दै सजाय निर्धारणका लागि अर्को पेसी तोकेको हो।

कुन्जोकलाई जिल्ला अदालत रसुवाले पनि वन्यजन्तुसम्बन्धी अपराधमा दोषी ठहर गरेको छ। उनलाई तीन वर्षअघि जिल्ला अदालत रसुवाले सात वर्ष कैद सजायका साथै एक लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।

१५ वर्षअघि ठूलो परिमाणमा पाटेबाघ र चितुवाको छालासहित रसुवाको स्याप्रुबाट पाँच जना पक्राउ परे पनि कुन्जोक फरार भएका थिए। उनलाई २०७७ साल असार ११ मा सीआईबीले पक्राउ गरेर मुद्दा चलाएको थियो।

त्यसपछि कुन्जोकले कानुनी छिद्रबाट उम्कन उच्च अदालत पाटन र सर्वोच्च अदालतको सहारा लिएका थिए। बन्दी प्रत्यक्षीकरण रिटबाटै छुट्ने र उम्कने प्रयासस्वरूप पाँच महिनादेखिको उनको योजना सर्वोच्चले रिट खारेज गरेसँगै असफल भएको थियो।

२०७७ कात्तिक२ मा सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा ३ कात्तिकमा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले कारण देखाउ आदेश जारी गर्दै फाइल मगाउने आदेश गरेको थियो।

त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको थियो भने विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो।

तर, कुन्जोक आफैंले दुई वटा पेसीमा सुनुवाइ स्थगित गराए। तेस्रो पटक तोकिएको पेसीमा भने सुुनवाइ भएसँगै कुन्जोकको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको हो।

रसुवा जिल्ला अदालतको आदेशले थुनामा रहेका तामाङले त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उनको निवेदनमा उच्च अदालतले सक्कल कागज मगाउने आदेश दिएको थियो।

उच्च अदालतले तोकेको पेसीमा पनि कुन्जोकले दुई पटक स्थगित गराएका थिए। उच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा तामाङले कोभिड-१९ को कारण देखाएर सर्वोच्चमा आफू कुन्जोक लामा भन्ने व्यक्ति नभएको जिकिर गर्दै छुटकारा पाउन माग गर्दैै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए।

१६ भदौ २०६२ मा रसुवाको स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो। तामाङ सो घटनाका मुख्य अभियुक्त हुन्।

मुख्य अभियुक्त तामाङले नाम परिवर्तन गरेर भारतमा वन्यजन्तुको तस्करी गर्दै आएका थिए। रसुवामा सेनाले बरामद गरेको सो घटना नेपालको इतिहासमै वन्यजन्तुको अपराधसँग सम्बन्धित ठूलोमध्येको घटना हो।

वन्यजन्तुको अवैध सिकार तथा पैठारी गर्ने अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएका तामाङ १५ वर्षदेखि फरार थिए। तामाङ नेपालमा मात्रै होइन, भारतमा पनि वन्यजन्तु तस्करीमा संलग्न भएसँगैै मुद्दा चलेपछि फरारको सूचीमा छन्।

वन्यजन्तुको ओखेटापखेटा तस्करी मुद्दामा फरार तामाङलाई ११ असार २०७७ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो। अन्तर्राष्ट्रिय स्तरमा वन्यजन्तुको तस्करको गतिविधिमा संलग्न कुन्जोकको नाम भारतमा हुने ठूलो अपराधमा पनि जोडिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *