गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

डिसी नेपाल
८ जेठ २०८१ २०:२५

गण्डकी। गण्डकी प्रदेश नीति तथा योजना आयोगले गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) को परिमार्जित आधारपत्र आज सार्वजनिक गरेको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८१ जेठ ४ गतेको निर्णयअनुसार स्वीकृत दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र एक कार्यक्रमका बीच मुख्यमन्त्री खगराज अधिकारीले सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री अधिकारीले यसअघि सार्वजनिक आधारपत्र १६औँ पञ्चवर्षीय योजनासँग तालमेल नमिल्नुका साथै संविधानले लक्षित गरेको समाजवाद उन्मुख अर्थतन्त्रलाई अवलम्बन नगरिएका कारण परिमार्जन गरिएको बताए ।

गरिबी न्यूनीकरण, समतामूलक समाज स्थापना र स्थानीय आर्थिक विकासलाई आधारपत्रले समेटेको बताउँदै उनले निरन्तरको खटाइबाट यसलाई परिमार्जन गरिएको बताए। यसअघिका सरकारले सहयोग लिएका विज्ञलाई बोलाएर आधारपत्र परिमार्जन गरिएको उनले जानकारी दिए।

यसअघि नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले सार्वजनिक गरेको आधारपत्रमा ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’ को सोच हासिल गर्न उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नतिलाई प्रादेशिक लक्ष्य निर्धारण गरिएकोमा अधिकारी नेतृत्वको सरकारले समाजवाद उन्मुख स्वतन्त्र, आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यलाई सार्थकता प्रदान गर्न ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ लाई दोस्रो पञ्चवर्षीय योजनाको सोच तय गरेको छ।

आधारपत्रमा उल्लेखित तीन उद्देश्यमा आर्थिक वृद्धि एवं विकासका लाभको समतामूलक र न्यायोचित वितरणमार्फत समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु, मानव पुँजी निर्माण, गुणस्तरीय पूर्वाधारको विकास एवं उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध प्रदेशको आधारशीला निर्माण गर्नु र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा प्रदेशवासीको सहज पहुँच र सुशासन अभिवृद्धि गर्नु उल्लेख गरिएको छ।

गण्डकी प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा श्रीकान्त खतिवडाले शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, सामाजिक समावेशिताको क्षेत्रमा केही परिमार्जन गरिएको जानकारी दिए। समृद्ध प्रदेश स् सुखी प्रदेशवासीको सोच हासिल गर्न उत्पाचदकत्व वृद्धि, मर्यादित जीवन र सामाजिक न्यायसहितको सुशासनयुक्त समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्य राखिएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *