भारतको कर्नाटकमा दाजुबहिनीको शंकास्पद मृत्यु
महेन्द्रनगर। बैतडीको पुच्र्यौडी नगरपालिका-४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ।
बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शंकास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए।
“दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भने, “दुवैको शरीर चोटपटक देखिन्छ।” बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए।
मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ। घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ।
“सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो”, धामीले भने, “तर अझै शव अस्पतालमै छ ।” मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment