विज्ञहरू भन्छन्-सूचना प्रविधि क्षेत्रमा धेरै सम्भावना छन्

डिसी नेपाल
२० वैशाख २०८१ २३:०२

काठमाडौं। सूचना तथा प्रविधि क्षेत्रले विकासको प्रचूर सम्भावना बोकेकामा विज्ञहरु एकमत देखिएका छन्।सञ्चार तथा सूचना प्रविधि प्रयोगको तीव्र विकाससँगै प्रविधिमैत्री समाजको निर्माणले गति लिइरहँदा यसले रोजगारीका ढोका पनि खोलिरहेको उनीहरूको भनाइ छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले कृषि, पर्यटनसँगै सूचना प्रविधि क्षेत्रले पनि विकासको प्रचूर सम्भावना बोकेको बताए। उनले भने, ‘सूचना प्रविधिको क्षेत्र विशाल र सीमाविहीन छ। नेपालमै बसेर पनि विदेशमा काम गर्न सकिने सुविधासमेत भएकाले नेपालमा रहेका आइटी विज्ञ युवाले लाभ लिनसक्छन्’। दत्तले अघिल्लो वर्षको एउटा अध्ययनले ६४ हजारले आइसिटी क्षेत्रमा काम गरिरहेको र नेपालमै बसेर डलर भित्र्याएका बताए।

मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरिएको छ। नेपालमा विसं २०२८ सालमा कम्प्युटर भित्रिएको थियो। पछि सन् १९९२ मा नेपालमा कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को स्थापना थियो भने क्यान स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालेको हो।

यो वर्ष ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ मनाइयो। राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाले वर्तमान विश्वलाई सूचना तथा प्रविधिले हाकेकाकाले यसको यसको महत्व दिनानुदिन बढ्दैगएको बताइन्। ‘सूचनाविना न मान्छे न त राष्ट्रले नै विकास गर्न सक्छ। अहिले त मानिसको जीवन नै सूचना प्रविधिसँग जोडिएको छ। त्यसर्थ सूचनाको सहज पहुँच गराउन र सूचनामा पारदर्शिताको खाँचो छ’, उनले भनिन्।

तीव्र आर्थिक विकासमा सूचना प्रविधिको उपयोग अपरिहार्य रहेकोले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ अगाडि बढाएर हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ। सो लक्ष्य हासिल गर्न युवा जनशक्तिको क्षमतामा अभिवृद्धि गन जरूरी रहेको मन्त्रालयका सहसचिव दत्तको भनाइ छ। उनी भन्छन्, ‘सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित वर्षभरीको प्रगति, यस क्षेत्रमा देखिएका चुनौती र आगामी कार्यजनाको छलफल गर्न पनि यो दिवस मनाउछौँ। हाम्रो मुख्य लक्ष्य युवा केन्द्रित हुनुपर्छ र त्यसका लागि युवाको क्षमता अभिवृद्धिका कार्यक्रम आवश्यक छन्।’

उनले यो क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षबाट ‘हाइ स्किल प्रोगाम’ ल्याउने र त्यसले सूचना प्रविधिको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। भर्खरै सम्पन्न तेस्रो लगानी सम्मेलनमा डाटा सेन्टर स्थापनाका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको र सोसम्बन्धी काम अगाडि बढे थप सहजता हुने धेरैको विश्वास छ।

सहसचिव दत्तले आइटी पार्क वा टेक्नो पार्कको अवधारणाबारे सोच निर्माण भइरहेको र वैदेशिक लगानीका माइक्रोसफ्ट, गुगलजस्ता कम्पनीलाई नेपाल भित्र्याउन नीति तथा कानुनमा सुधारका काम पनि सँगसँगै अगाडि बढाइने बताए। युग सुहाउँदो पूर्वाधार र प्रतिस्पर्धी क्षमता विकासमा पनि सरकारले आवश्यक काम गर्ने उनको भनाइ छ। ‘हामीलाई हाइस्पिड इन्टरनेट, सबै ठाउँमा अप्टिकल फाइबर र सोहीअनुसारको ब्रोडब्याण्ड कनेक्टिीभिटी र सफ्टवेयरको विकास पनि जरूरी छ। सरकारले यस विषयमा पनि आवश्यक काम गर्छ’, उनले भने।

विज्ञहरूले सूचना तथा सञ्चार प्रविधिलाई विश्वव्यापी रूपमा नै देश विकासको प्रमुख आधार मान्ने गरिएकाले नेपालले पनि यसलाई प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार निर्माण र क्षमता विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले यस क्षेत्रमा सरकारले सुधारका प्रयास बढाउँदै लगिरहेको बताए। उनले भने, ‘आइटी क्षेत्रमा सरकारले प्रयास गरिरहेको छ। हालसम्म धेरै राम्रा काम पनि भएका छन्। पेपरलेस एकीकृत कार्यालय व्यवस्थापन प्रणाली पनि विगत दुई वर्षदेखि सञ्चालनमा छ। यसले सेवाप्रवाहमा थप सहजताका लागि थपिएको छ। अरु क्षेत्रमा पनि सुधारका काम भइरहेका छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *