देशविरोधी अभिव्यक्ति दिएका यी उच्च पदस्थको पद जोगाउने विज्ञप्ति ?

डिसी नेपाल
२७ वैशाख २०८१ १४:३६

काठमाडौं। यतिबेला मुलुकविरोधी अभिव्यक्ति दम्भका साथ सार्वजानिक गर्ने व्यक्ति देशको राष्ट्रपतिजस्तो संस्थाका सल्लाहकार पदमा आसीन छन्।

बोलेको कुराले मुलुकको अपमान गरेकोमा चिन्ता भन्दा पनि पदमा टिकिरहने उनको बक्तव्यवाजी सार्वजनिक भएको छ। सन्दर्भ राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरन्जीवी नेपालको केही दिनअघिको अभिव्यक्तिको हो।

नेपाल सरकारले एक सय रुपैयाँको नोटमा मुलुकको नक्सा राख्ने निर्णय गरेको कुरा सार्वजानिक भएको थियो। नेपालको संविधानमा उल्लेख भएको मुलुकको नक्सा राख्ने कुराले नेपालीको हैसियतमा उनलाई किन आपत्ति लागेको हो खुलाएका छैनन्।

तर, प्रतिष्ठित संचारसंस्था बीबीसीसँग कुरा गर्दै उनले सरकारको सो निर्णयलाई लहडको निर्णय भनी विरोध गरेका थिए। उनले सरकारको सो निर्णयलाई अविवेकी निर्णय भएको आरोप लगाएका समाचारहरु पनि प्रकाशित भएका थिए।

कुनैबेला अर्थमन्त्रीको आर्थिक सल्लाहकार र नोटमै हस्ताक्षर गर्ने नेपाल राष्ट्र बैंकको गभर्नरसमेत भइसकेका डा.नेपालले के आधारमा सरकारको नोटमा नक्सा छाप्नेसम्बन्धी निर्णयको विरोध गरेका हुन् भन्ने खुलेको छैन, उनले खुलाएका पनि छैनन्।

तर, यो निर्णय आएपछि भारतको सत्ता भने तरंगित भएको थियो। भारतीय विदेश मन्त्रीले नोटमा नक्सा छाप्ने कार्यप्रति असन्तुष्टि जनाएका थिए। भारतीय विदेश सचिव बोलेको केही समयमै नेपालको राष्ट्रपतिका आर्थिक विज्ञ डा. नेपालले भारतीय बोलीमै लोली मिलाएर नेपाल सरकारको निर्णयमाथि अभद्र टिप्पणी गरेका थिए।

नेपालमा राष्ट्रिय भावनाका केही कामहरु शुरु हुन खोज्यो कि कहीँ न कहीँबाट कोही न कोही फुत्त निस्कने र त्यसको कुठाराघात गर्ने काममा अघि सर्ने गरेका विगतका प्रशस्त उदाहरणहरु छन्। यसपटक डा.नेपाल सो कार्यका लागि प्रकट गरिए, गराइए।

हो, नेपालको संविधानमा समेटिएको नेपालको पछिल्लो नक्सा छिमेकी मुलुक भारतका लागि टाउको दुखाइको विषय भएको छ।  नेपालको भूमिमा जानी जानी आफ्नो सेना राखेर कालापानी लिम्पियाधुरा क्षेत्र भारतले हडपेको कुरा प्रमाणसहित नै सार्वजानिक भइसकेकै छन्।

त्यही भूभागलाई आफ्नो नक्सामा समेटेर राष्टिय सहमतीसहित नै नेपालको संसदले त्यसलाई संविधानको अनुसूचीमा राख्ने निर्णय गरेको थियो। नेपालको यही एक प्रकरण हो जसले नेपालका हिमालदेखि तराई र पहाडका सबै नेतालाई एक ठाउँमा ल्याएको थियो।

तर, यो राष्ट्रिय भावना राष्ट्रपतिकै आर्थिक विज्ञलाई पचेको रहेनछ भन्ने उनको पछिल्लो अभिव्यक्तिले देखाएको छ। उनले आफ्नो भूमिलाई सीमा विवाद भएको भूमि भनेका छन् अनि त्यस्तो भूमिलाई समेटेको नक्सा नोटमा राख्नुलाई लहडी निर्णय भनेका छन्।

पद जोगाइराख्न डा.नेपालले हिजो एउटा विज्ञप्ति जारी गरेका छन्। उनले आफ्नै भनाइको तोडमरोड भएको भन्दै संचारमाध्यमतिर आरोप लगाएका छन्। यति हुँदा हुँदै पनि अर्थविद्को हैसियतले भनेको भन्दै उनले बोलेको कुराको नैतिक जिम्मेवारी लिन्छु पनि भनेका छन्।

देशविरुद्ध बोलेको कुराको नैतिक जिम्मेवारी लिइसकेपछि देशकै सर्बोच्च निकाय राष्ट्रपतिको आर्थिक विज्ञजस्तो पदमा बसिरहने नैतिकता चाहिँ कस्तो हो? बोलेको कुराको जिम्मेवारी लिएपछि पद छाड्नु पर्ने नैतिकता देखाउनु पर्ने हो कि होइन?

यसरी मुलुकको पक्षमा नरहनेहरु मुलुककै सर्वोच्च निकायका पदमा आसीन भइराख्नुचाहिँ लाजमर्दो कुरा हो। देशको अवहेलना गर्ने, राष्ट्रिय भावनालाई अपमान गर्ने मानिस राज्यको सर्वोच्च संस्थाको महत्वपूर्ण पदमा आसिन भइरहनु आपत्तिको विषय हो। तर, राज्य बेखवर छ।

यसो हुनु सरकारको मुलुकप्रतिको अनुत्तरदायित्व हो, शासनपद्धतिप्रतिको निराशाको कारक हो र जनताको राष्ट्रियताको दरिलो भावनामाथिको भद्दा मजाक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *