मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक

डिसी नेपाल
५ जेठ २०८१ २२:५५

काठमाडौं। नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (२)ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेश क्षेत्रीय सम्मेलन तथा प्रोफाइल लोकार्पण’ कार्यक्रममा उनले अस्थिरताको बीचमा फसेको देशलाई बाहिर निकाल्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। पार्टीभित्र देखिएका मतान्तर आक्रोश समस्यालाई थाँती राखेर मुलुकलाई अगाडि बढाउन कांग्रेस अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

त्यसैगरी उनले हाल देशमा देखिएका समस्या समाधानमा सत्तापक्ष जिम्मेवार हुनुपर्नेसमेत बताए। ‘मुलुक राजनीतिक दलबीचको द्वन्द्व, संसद्को अवरोध, अस्थिरताको कुचक्रमा फस्दा जनतामा नकारात्मक सन्देश गएको छ, यसलाई चिर्न सरकारपक्ष जिम्मेवार बन्नुपर्छ’, उनले भने।

नेता लेखकले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले पार्टीभित्रको आलोचनालाई विशेष स्थान दिएर अगाडि बढेको बताए।‘आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो, यसले पार्टीलाई बलियो बनाउँछ, आलोचनात्मक चेतलाई कांग्रेसले संस्थागत गरेको छ’, नेता लेखकले भने। प्रधानमन्त्रीले १८ महिनाका बीचमा चौथोपटक विश्वासको मतको लिनु देशलाई अस्थिरतातिर धकेलेको उनको भनाइ थियो।

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएका गुटले धेरै स्थानमा कांग्रेसले पराजय भोग्नुपरेको बताए। उनले पार्टीलाई एकढिक्का बनाउने संकल्प नगरेसम्म पार्टी अगाडि बढ्न नसक्ने उल्लेख गरे।

कार्यक्रममा नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले कांग्रेसभित्र निष्ठा र आदर्श गुम्दै गएकाप्रति शीर्ष नेता नै गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।

कांग्रेस नेत्री एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले केन्द्रले प्रदेशलाई अधिकार नदिँदा सोचेजस्तो काम गर्न नसकिएको गुनासो गरिन्। कांग्रेस काठमाडौं क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले पार्टीभित्र एकअर्कालाई स्वीकार गर्न नसकेकाले पार्टीले हार व्यहोरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *