प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

डिसी नेपाल
६ जेठ २०८१ १३:०२

काठमाडौं। आज बिहान ११ बजे बस्नेगरी तय भएको प्रतिनिधिसभाको बैठक आजै दिउँसो २ बजेका लागि सारिएको छ।

प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको जानकारी दिए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारीको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा दलहरू सहमत भए पनि समितिको कार्यादेश टुंगाे लाग्न सकेको छैन। छानबिन समितिको कार्यादेशबारे अहिले दलहरुबीच छलफल चलिरहेको छ।

आजै बसेको प्रतिपक्षी दलहरुको बैठकले छानबिन समिति गठन गर्ने र त्यसपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्ने र त्यसको कार्यादेश टुङ्गो लागेपछि संसद्को कार्यसूची अघि बढ्ने बताए।

आज संसद् भवनमा भएको विपक्षी दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्दा अवरोध नगर्ने र संसदीय छानबिन समिति गठनको टुंगाे लागेपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय भएको बताए।

“अहिले हामी विपक्षमा रहेका सबै राजनीतिक दलहरुबीच छलफल भएको छ। छानबिन समिति बनाउने विषयलाई सबैले सकारात्मकरुपमा लिएका छौं। छानबिन समिति बनाउने र त्यसपछि संसद्का अरु कार्यसूचीमा प्रवेश गर्ने भन्ने छलफल भएको छ”, लेखकले भने, “गृहमन्त्रीले बोल्नका लागि समय माग्नुभएको छ। त्यसमा हामी अवरोध गर्दैनौं। हामी उहाँलाई सुन्न तयार छौं तर सरकारी विजनेसमा प्रवेश गर्नुभन्दा अघि छानबिन समिति बनाउने र उक्त समितिको कार्यादेश टुङ्ग्याइसक्नुपर्ने हुन्छ।”

छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच अहिले पनि छलफल चलिरहेको लेखकले बताए। कार्यादेश टुंगाे लागेर छानबिन समिति बनेपछि संसद्का गतिविधि सहजरुपमा अघि बढ्ने उनको भनाइ छ।

शनिबार राति बसेको बैठकमा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी संस्थाको सम्पत्ति हिनामिना भएका विषयमा संसदीय छानबिन समिति गठन गर्ने सहमत भएका थिए।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ।

त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन्। राष्ट्रपति पौडेलले जेठ १ गते दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची पनि आज राखिएको छ। त्यसैगरी प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिम ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९-८०’ पेस गर्ने कार्यसूची छ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई फिर्ता लिने प्रस्ताव पनि पेस गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *