उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यमः राष्ट्रपति

डिसी नेपाल
१० जेठ २०८१ ७:१७

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउने बताएका छन्।

किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले पर्वहरुले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताएका हुन्।

“हाम्रा पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउँछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत् भनेका छन्, “उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।”

किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन्।

जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जंगली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वका रूपमा मनाइन्छ।

वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस् भन्ने कामना गरेर तथा प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गरेर यो पर्व मनाउँदछन्।

साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *