बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान

डिसी नेपाल
१० जेठ २०८१ ७:५२

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

यस अवसरमा आज जारी शुभकामना सन्देशमा उनले समकालीन विश्वमा गौतमबुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढेको बताएकी छन्। साथै उनले बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान पनि गरेकी छन्।

“गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको अत्यन्त दुर्लभ त्रिसंयोगको रूपमा रहेको वैशाख पूर्णिमालाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ, ” शुभकामना सन्देशमा उनले भनेकी छन्।

नेपालका विभूति गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको बारेमा दिनुभएको शिक्षा र प्रतिपादन गरेकाे सिद्धान्त र दर्शनलाई मान्यता प्रदान गर्दै संयुक्त राष्ट्रसंघले समेत सन् १९९९ देखि बुद्ध जयन्तीलाई ‘वैशाख दिवस’को नाममा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको उनले सन्देशमा स्मरण गरेकी छन्।

विश्वका विभिन्न भू-भागमा मानव जातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनुपरेको वर्तमान परिप्रेक्ष्यमा अहिंसा, करुणा, पारस्परिक सम्मान र सद्भावका साथै शान्तिपूर्ण विश्वका लागि बुद्धले दिएका सन्देशहरू आज पनि उत्तिकै मननीय र उपयोगी छन् भन्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका उपदेशहरूको पालना एवं अनुशरण गर्न सकेमा हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ हुने विचार सन्देशमा व्यक्त गरेकी छन्।

साथै उनले गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *