समीक्षा : वैचारिक ढाटमा ‘खाइराइड’

खेमराज पोखरेल
१४ जेठ २०८१ ७:०४
264
Shares

मेरो घरठेगानामा ठडिएको मेलबक्समा अमेरिकी हुलाकले पहेँलो खाम ल्याइदियो। खोलेर हेरेँ। मैले अहिलेसम्म भौतिक वा अभौतिक कुनै तरिकाले पनि नचिनेका÷नपढेका स्रष्टा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्धकृति ‘खाइराइड’ रहेछ। घर आइपुगेको कोसेलीलाई फुकाएर हेरेको छु।

निबन्धकृति ‘खाइराइड’ को आवरणमा एउटा टेबुलभरि परिकारयुक्त थालैथाल छन्। हातैहातमा खानेकुरा नखानेकुरा हजम गरिरहेको र दाँत ङिच्याइरहेको हन्तकाली मान्छेको चित्र छ।

आवरणको पश्च भागमा सर्जक राजेन्द्र कार्कीको तस्बिर छ र सोमुनि फित्कौली डटकमका प्रधान सम्पादक नरनाथ लुइँटेल तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको छोटो कथन छ।

फित्कौली अनलाइन मिडियाले २०८० सालमा प्रकाशन गरेको यो कृतिमा नरनाथ लुइँटेल र लक्ष्मण गाम्नागेको वृहत् भूमिका छ। ‘नभन्नु पर्ने’ भन्दै हास्यव्यङ्ग्यकार राजेन्द्रले रचनागर्भ र प्राविधिक कुरा अभिव्यक्त गरेका छन्। एकतीस ओटा निबन्धको सूची पनि अङ्कित छ।

‘खाइराइड’ हास्यव्यङ्ग्य रसमा लेखिएको निबन्ध कृति हो। हास्यव्यङ्ग्य भन्नु साहित्यको एउटा रस हो। यो रसलाई काव्य, नाटक, आख्यान, तथा निबन्धजस्ता साहित्यका सवै विधामा घोल बनाएर हालिन्छ र परिपाक पुर्यान्छ। यसरी हास्यव्यङ्ग्यको निर्माण हुन्छ।

हास्यव्यङ्ग्य भन्नु नै विविध खाले असङ्गति विसङ्गति माथि शब्दका सहाराले आक्रमण गर्नु हो। अर्थात् हँसाइ हँसाइ व्यङ्ग्य बाण चलाउनु हो। साहित्यको प्रयोजन शालिनता भएको हुनाले ती हास्यव्यङ्ग्य रस मिसिएका आक्रमणहरू न्यायपूर्ण पनि हुनु पर्छ भन्ने कुरा पूर्वमान्यता हो।

प्रकृतिपदत्त कुरामा हास्य र व्यङ्ग्य गर्नु न्यायपूर्ण हुन्न। कुनै मानिसलाई प्रकृतिले नै दिएको विसङ्गतिमाथि हास्य वा व्यङ्ग्य राम्रो मानिन्न। अर्थात् हास्यव्यङ्ग्य लेखिनु पर्ने कुरा भनेको विसङ्गत प्रवृत्तिमाथि हो। किनभने हास्यव्यङ्ग्यको प्रयोजन भनेको सुधार हो।

प्रकृतिपदत्त गुण वा अवगुणमा परिवर्तन आउन्न। जीवनजगत्लाई विसङ्गतिमूलक बनाउने मान्छेको प्रवृत्ति हो। प्रवृत्ति भनेको आर्जित र परिवर्तनीय हो। त्यसैले जुन विषय प्रसङ्गमा हास्यव्यङ्ग्य लेखिए पनि तिनमा रहेको असङ्गत प्रवृत्तिलाई सङ्गत बनाउनु नै हो। हँसियालाई सोझ्याउनु नै हो।

यद्यपि साहित्यको सन्देश प्रवाह गर्ने शालिन शब्दका माध्यमको सामथ्र्य नै हो। तर पनि हास्यव्यङ्ग्यका हकमा भने आक्रमणको दह्रो हतियार भनेको सर्जकको शब्द सञ्चालन सामथ्र्य हो। शाब्दिक तारतम्यले नै बाँण चलाउँछ। शब्दले नै विस्तारै कन्याउँछ। हँसाउँछ। र, र्वाम्म रोप्छ। चेताउँछ।

समाजमा विविध खाले असङ्गति विसङ्गति छन्। सुन्दर हास्यव्यङ्ग्य सिर्जना गर्न लेखक सिर्जित विषयप्रति केन्द्रीकृत हुन सके वा हास्यव्यङ्ग्य लेखकले ती विविध विसङ्गति मध्ये एक विषय वा परिवेश टिप्न सके सुन्दर हुन्छ भन्ने मान्यता छ।

स्वभावैले विषय छिरोलियो भने वा एउटै निबन्धमा धेरै ओटा विषयमाथि व्यङ्ग्य प्रहार गर्न वा हास्य निर्माण गर्न खोजियो भने फितलो हुन्छ। त्यसैले विषयमा केन्द्रिकृत हुनु सफल हास्यव्यङ्ग्यको आधार हो। त्यो विषयभित्र पनि कुनै एउटा दह्रो मुद्दा (इस्यु) लाई निबन्धका आधार बनाएमा झन् राम्रो मानिन्छ।

किनभने हास्यव्यङ्ग्यको प्रयोजन साहित्यमा भन्ने गरेको स्वान्त सुखाय मात्र होइन, आक्रमण पनि हो। र सो आक्रकणको उद्देश्य सुधारात्मक पनि हुनु पर्छ। ध्वङ्सात्मक उद्देश्य निसन्देह सभ्यताको लागि राम्रो होइन। त्यसैले सिर्जनामा कठोर व्यङ्ग्य मात्र भयो भने गाली हुन्छ।

गाली भयो भने इख तथा इबी हुन्छ। हास्य मात्र भयो चुटकिला हुन्छ। त्यसको प्रभाव पानीको फोकाजस्तो हुन्छ। हास्य र व्यङ्ग्यको समूचित मिश्रण भएको खुराक असल हास्यव्यङ्ग्यको सामल हो।

हास्यव्यङ्ग्य निबन्ध लेखन सजिलो काम भने होइन। किनभने निबन्धका गुण भनेको केन्द्रिकृत वैचारिकता हो। विचारको धागोमा उनिन्छन् निबन्ध। निबन्धमा प्रयुक्त तथ्यमा प्रमाण हुनुपर्छ। अर्थात प्रस्तुत तथ्यमा लेखकको उत्तरदायित्व हुनु पर्छ। कल्पित तथ्य हाल्न पाइन्न।

र त्यसमा हास्यव्यङ्ग्यका गुणहरू समावेश गरेपछि मात्र हास्यव्यङ्ग्यात्मक निबन्ध बन्ने हो। निबन्धमा वैचारिक धरातल सवैभन्दा महत्त्वपूर्ण आधार हो। यही वैचारिक ढाटमा घेरेर ‘खाइराइड’ भित्रका हास्यव्यङ्ग्य निबन्धहरूको पुर्पक्ष गर्ने जमर्को गरेको छु।

खाइराइडभित्र एकतीस ओटा हास्यव्यङ्ग्य निबन्ध छन्। तिनले विविध विषय मात्र होइन; विविध विचार पनि उठाएका छन्।

‘खाइराइड’ का निबन्धसङ्ग्रहभित्र ज्यादातर परम्परावादी चिन्तन तथा त्यसभित्र अडिएर गरिने सुधारहरूलाई प्रश्रय दिएर लेखिएका छन्। परम्परावादी विचार भन्नाले परम्परादेखि चलेर आएका प्रचलन, संस्कृति, धर्म, समाज तथा त्यसको मूल्य मान्यतालाई आधार बनाएर जगेर्ना गर्ने अभिप्राय भएको विचार परम्परावादी हो।

यो वादले यही पुरानावादका मूल्य र मान्यतालाई नखल्बल्याइकन सुधार गर्न चाहन्छन्। यो विचारले आधुनिकवादलाई समाज खल्बल्याउने विध्वङ्सकारीका रूपमा चित्रण गर्छ। यसले सामान्य जिन्दगीको परिकल्पना गर्छ। सामान्य सुधारको अपेक्षा गर्छ।

सांस्कृतिक तथा धार्मिक मूल्यमान्यतालाई असाध्य आदर गर्छ। परम्परावादमा पनि पुरापरम्परावादी तथा नवपरम्परावादी वैचारिक धरातल हुन्छ। पुरापरम्परावादीहरू पूर्वपरम्परामा अडिग हुन्छन्। तर नवपरम्परावादीहरू सुधार चाहन्छन्।

खाइराइडमा प्रयुक्त केही निबन्धहरूले नवपरम्परावादी चिन्तन बोकेका छन्। मान्छे भनेको भगौडा नै हो भन्ने पुरानो जीवनबोधी भनिएको विचार छन्। अफगानिस्तानका मध्यकालीन कवि रोमीले जीवनलाई अनन्तसम्म र अनवरत चलिरहने चक्रका रूपमा व्याख्या गरेझैँ यस कृतिका केही निबन्धले जीवनको अनन्तताका बारेमा विचार पस्केका छन्।

नेपालको परम्परागत समाजमा रहेको सामाजिक परिपाटीमा कुदेका छन्। उँभो लागेपछि मान्छेले मान्छे नचिन्ने प्रवृत्ति निबन्धको सामल भएर आएको छ। यो विचार पनि परम्परावादी नै हो। सुरुदेखि नै मान्छे भन्नु नै चेतना हो र चेतना भन्नु स्वार्थ हो।

नेपालीको भोलिवाद, अनावश्यक टीकाटिप्पणी, झगडालु स्वभाव जस्ता विशेषतामाथि व्यङ्ग्य छ। यो समस्या पनि परम्परावादकै हो। पैसाका भरमा लेखक हुने परिवेश, पैसाकै भरमा पुरस्कार पाइने जमानामाथि व्यङ्ग्य छ। लेखक तथा पुस्तकको भेलबाढी विषय आएको छ।

यो भेल बाढीले के फरक पर्छ समाजलाई ? यो निक्र्यौल गर्ने कसी के हो ? भन्ने विषयमा पनि निबन्धकार परम्परावादी देखिएका छन्। किनभने पुस्तक प्रकाशनमा लेखकको भावना, मेहनत, श्रम तथा पैसा सवै थोक परेको हुन्छ। त्यसको कदर गर्न सकिएन भने सम्बृद्ध साहित्य एकैपल्ट आकाशबाट झर्ने होइन।

यसैगरी मान्छेलाई सर सम्बोधन प्यारो तथा पैसाका पछि कुद्ने वर्तमान विश्वपरिपाटीमाथि प्रहार पनि परम्परावादी साोच नै हो। मान्छेले आदर्शका नाममा यौन कुण्ठा पालेर बस्नु पर्ने परिवेशको चित्रण पनि परम्परावादी नै हो। सुन्दर जिन्दगीलाई पाइखानासँग दाँज्ने र जीवनलाई निरर्थक ठान्ने प्रवृत्ति पनि परम्परावाद नै हो।

यही क्रममा वैदेशिक रोजगारीमा जानुपर्ने नेपालीको नियति तथा परिवेशलाई चित्रण गरिएको छ। यो कुरा पनि परम्परावादी हो। किनभने वर्तमान कालमा विश्व नै एउटा देश, एउटा चुनौती, एउटा अवसर, एउटा समाज, एउटा गन्तव्य हो। संसारभरिका मान्छेहरू वैदेशिक रोजगारीमा जान्छन्। यो कुरा नेपालको मात्र होइन।

नाम तथा दामका पछाडि कुद्नु मान्छेको स्वभाव हो। प्रकृति हो। चेतना हो। अग्रगम्यता हो। तर निबन्धकारले नामकै कारणले हन्डर खेपेको मान्छे भनेर लेखेका छन्। हन्डर खेप्नु भनेको पनि विकासको चरण हो। नामकै चामले चम्किन खोज्नु मान्छेको प्राकृतिक गुण नै हो।

खाइराइडका निबन्धले आफ्नी छोरी दान गर्ने दानी कि नादानी भन्ने पुरानो प्रश्नमा सुधार खोजेका छन्। वर्तमान विश्व स्वतन्त्रताको युगमा पुगेको बेला गौदान, प्राणदान, श्रमदान, विर्यदान, शिक्षा दान जस्ता दानेसोचमा देखिन्छन्। चुनावलाई आधार बनाएर सत्ता प्राप्त गर्ने र जनता बिर्सने परिपाटी पनि परम्पराबाट नै निर्देशित चिन्तन हो।

राजनीतिमा गुटफुट झुट पनि पुरानो विचार हो। अब तिनमा कानुनले नियन्त्रण गर्ने हो। देशका मान्छे विदेशिएपछि देश डुब्न लागेकोमा चिन्ता छ निबन्धकारको। देश डुब्नु भनेको पनि परम्परागत आदर्श हो। एक गए अर्को आउँछ।

एक लोप भए अर्को आउँछ। नेपालको वर्तमान सामाजिक संरचनालाई हेर्ने हो भने पनि केही आदिवासी भनिएका बाहेक प्राय सवै आप्रवासी हुन्। ती आप्रवासी नै कालान्तरमा पुगेर रैथाने बन्ने हुन्।

खाइराइडका केही निबन्धहरू आधुनिकतावादका वैचारिक धरातलमा पनि लेखिएका छन्। जड परम्परावादी दृष्टिकोणमा विज्ञानका सूत्र ‘कज एन्ड इफेक्ट’ का सहाराले विश्वको व्याख्या आधुनिकतावाद हो। यो वादका विचारमा मान्छेले आफ्नो जीवनमा नौलो उत्साह, उमङ्ग र परिवर्तन खोज्छ।

नयाँ विचार, नयाँ तरिका, नयाँ सुख, व्यक्तिगत स्वतन्त्रता, नयाँ समाज तथा नयाँ खुसी खोज्छ। परम्परावादको परिमित चिन्तनबाट माथि उठेर अपरिमित बन्न खोज्छ।

परम्परावादी समाज, मूल्य, विचार तथा प्रचलनले व्यक्तिका अधिकार, स्वतन्त्रता, सुख तथा आनन्दलाई नियन्त्रित गर्छ भन्ने मान्यता आधुनिकतावादको हो। परम्परावादीले विगतका मान्यतालाई मन पराउँछन् भने आधुनिकतावादीले वर्तमान र भविष्यको चिन्ता गर्छन्।

खाइराइडका निबन्धमा परम्परावादी सोचभन्दा माथि उठेर आधुनिकताका पक्षमा पनि निबन्धहरू लेखिएका छन्। कामलाई सानो ठूलो भन्ने÷मान्ने परम्परावादी प्रचलनलाई भत्काएको छ र काम भनेको काम हो भन्ने आधुनिक चिन्तन पनि समावेश गरेको छ।

चाकरी प्रथामाथि व्यङ्ग्य प्रहार गर्दै जातप्रथामाथि कठोर व्यङ्ग्य पस्केको छ। यो निबन्धसङ्ग्रहभित्र नेपालको परम्परावादी समाजलाई आधुनिकताको विचारका आधारमा व्यङ्ग्य प्रहार गरिएको छ। लैङ्गिक समानताको आधुनिक मुद्दा उठाइएको छ।

बुहारी नामकी कमारीका परम्परागत मान्यतामाथि प्रहार गरी बुहारीको स्वतन्त्रताका बारेमा लेखिएको छ। तर फेरि पनि निबन्धकार परम्परागत विचारमा पुगेर वर्तमानमा एउटा पुस्ता जो सासूबाट पनि प्रताडित भयो, बुहारीबाट पनि प्रताडित भयो भन्ने दृष्टि पस्केका छन्।

उनको निबन्ध ‘कहाँ छ स्वतन्त्रता ?’ ले गजबसँग आधुनिक चिन्तन पस्केको छ। वास्तवमा गहिरिएर हेर्रयो भने परम्परामा बाँचेको समाजमा मान्छे स्व्तन्त्र छैन। त्यसैले रुसो (१७१२—१७७८) ले त्यति बेलै ‘म्यान इज बोर्न फ्री एन्ड एभ्रिह्वेर ही इज इन चेन्स’ भनेका थिए।

यसैगरी कृति शीर्षक पनि रहेको खाइराइड निबन्धले राजनीतिक नेताहरूमा घुसमोह प्रथामाथि व्यङ्ग्य हानेका छन्। देश रोगी खाइराइडले भन्छन्। आधुनिकतामा राजनीति भनेको भगवान्को अवतार होइन।

निबन्धहरू पढिरहँदा उत्तरआधुनिक चेतका अखाडामा पुगेको छु। उत्तरआधुनिक विचार भनेको त्यस्तो विचार हो जो परिमितता अथवा नापिएको वा सोचिएको मात्राले जीवन चल्दैन भन्ने हो। अर्थात् समाज वा जीवनमा अपरिवर्तनीयतालाई मान्दैन। अर्थात् कुनै विशेष सिद्धान्तलाई जस्ताको तस्तै मान्दैन।

अर्थात् परम्परादेखि मान्छेले एकतर्फी रूपमा भन्दै आएको, मान्दै आएको वा व्याख्या गरिएको मान्छेको चित्र, चरित्र र चर्तीकलालाई मान्दैन। धर्मका अन्धविश्वासी ज्ञानलाई मान्दैन। कुनै एक धर्म वा एक दर्शनका चिन्तनलाई जस्ताको तस्तै मान्दैन।

अर्थात् विश्वभरि जति प्रचलित मान्यताहरू छन् ती सार्वभौम सत्य होइनन्, व्यक्तिगत सत्य हो। त्यसैले संस्कृति, जात, धर्म, परम्परा, समाज, भाषा, देश, मान्यता आदि मान्छेको व्यक्तिगत अनुभवको आकारीकरण मात्र हो। ज्ञानको जेनिथ होइन।

समाजमा रहेका अन्धविश्वासी मान्यतालाई विज्ञानका सूत्रका सहायताले प्रहार गर्दै बहिस्कार गर्नु र नयाँ खोज गर्नु आधुनिक विचार हो। यस क्रममा विकासको लहरमा पुग्न खोज्नु, मान्छेका जिन्दगीका समस्याहरूको खोज गर्नु आधुनिक कालको विशेषता हो।

तर उत्तरआधुनिक कालले त्यसभन्दा पनि माथि उठेर विज्ञानका उपलब्धिलाई प्रयोग गर्दै मानव सम्वेदनासहितको जीवन खोज्छ। उत्तरआधुनिक विचारका आधारमा भन्दा समाजका सवैकुरा चलिरहन्छन्। भौतिक वा मानसिक प्रकृयामा चल्छन्।

समाज विकासको ऐतिहासिक चरणलाई हेर्यो भने यो प्रकृयाका क्रममा यो पृथ्वीबाट हजारौँ भाषा हराएका छन्। कैयौँ देश हराएको छ। कैयौँ सभ्यता नासिएका छन्। मान्छेको जीवनका बारेमा नयाँ व्याख्या भएका छन्। अर्थात् व्यक्तिका चाहनाले मात्र न त समाज परिवर्तन हुनबाट रोकिन्छ, न त अग्रगम्यताको बाटो छेकिन्छ।

यो उत्तरआधुनिक वैचारिक धरातलमा राखेर हेर्यो भने सर्जक राजेन्द्रका निबन्धमा परम्परावादी चिन्तनका विरुद्ध आधुनिकवादतिर उन्मुख भएको पाइन्छ। निबन्धले उठाएका विविध विषयहरू यही धारमा छन्। तथापि केही निबन्धले उत्तरआधुनिक चिन्तनको बाटो पनि समातेका छन्।

‘कुकुरको भाग्य’ निबन्धमा कुकुरको नयाँ तथा उत्तरआधुनिक चेत लेखेका छन्। ‘जनावरलाई गाली किन ?’ निबन्धमा मान्छेसरह पशु अधिकारका कुरा उठाएका छन्। जनावर पनि यही पृथ्वीका हुन्। तीर्थ श्रेष्ठको कविताको सम्झना आयो। को खतरनाक मान्छे कि बाघ ? मान्छे बढेको बढै छ, बाघ घटेको घटै छ।

‘बिहे किन ?’ जस्ता निबन्धहरू उत्तरआधुनिक चिन्तनमा लेखिएका छन्। वास्तवमा बिहे अप्राकृतिक सङ्गठन हो। भाले र पोथी प्रकृतिले बनाएको हो। समाजले त्यसलाई छेकथुन मात्र गरेर सामाजिक मान्यतामा ढालेको हो। एक लोग्ने एक स्वास्नीको सिद्धान्त बनाएको हो।

तर परस्त्री तथा परपुरुषगामी परिवेश परम्परादेखिनै विद्यमान छ। सामाजिक नियन्त्रणले बिहेको मान्यतालाई जोगाउन सकेको छैन। रोक्न सक्ने कुरा पनि होइन। यसकारण उत्तरआधुनिक कालमा आइपुग्दा बिहे अप्राकृतिक सङ्गठन हो भन्ने मान्यता व्यापक छ। बिहे नामक सङ्घटन विघटनको सङ्घारमा छ। यही मान्यता निबन्धमा समावेश भएको छ।

निबन्धकारले ‘घाँडो बुढो’ निबन्धमा स्वदेश मै बसेका वा विदेशिएका सन्तानका वृद्ध मातापिताको अवस्था दयनीय छ भनेर देखाएको छ। यसको कारण भनेको क्रियाकलाप उत्तर आधुनिकवादका आधारमा गर्ने र सोच्ने परम्परागत परिवारिक अवस्थाको। त्यसैले निबन्धकारले घाँडो भनिएका वृद्धवृद्धाको समस्याको समाधान पनि उत्तरआधुनिकतबरले नै गर्नु पर्छ।

निबन्धकारले ‘हाइहाइ अमेरिका’ निबधमा अमेरिकी मोह देखाएका छन्। तल्लो बाटो नै भए पनि अमेरिका छिर्नेको लर्को देखाएका छन्। र यसको कारण अमेरिकाको विकासलाई देखाएका छन्।

वास्तवमा जतिसुकै समाज, परिवार, आफन्त वा राष्ट्रियताको विचार पस्के पनि वा भगौडा, पलायनवादी, अराष्ट्रिय भने पनि अर्को देशमा बसाइँ सर्ने क्रम रोकिँदैन। मान्छेको स्वभाव नै असल जीवनको खोज हो। यही खोजले सभ्यताको निर्माण गरेको हो। नेपालको सन्दर्भमा पनि भारत, मङ्गोलिया तथा चिनबाट असल जीवन खोज्दै छिरेका आप्रवासीले नेपाली सभ्यताको निर्माण गरेका हुन्।

उत्तरआधुनिकवादका मूल्य र मान्यतामा टेकेर प्रविधिजन्य युगका आधारभूत तत्वमा रमाउने युगको निर्माण भएको छ। उत्तरआधुनिक चिन्तनबाट पनि माथि उठेर जेनेरेसन जेड, अल्फा जेनेरेसनका आवश्यकतालाई बुझ्न पर्ने भएको छ अबको समाजले।

किनभने यो युग प्रविधिको युग हो। विश्व नै एउटा गाउँ, एउटा चुनौती, एउटा बजार, एउटा अवसर, एउटा चिन्तन भएको परिवेशले अत्याधुनिक चिन्तनको विकास हुनु स्वाभाविक हो।

खाइराइडका निबन्धमा अत्याधुनिक समस्यामाथि कुनै दृष्टि दिइएको छैन। तथापि ‘मृत्यु विज्ञापन’ नामक निबन्धमा प्रविधिले ल्याएको विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरिएको छ। फेसबुकमा थाहै नपाइ कमेन्ट गर्ने प्रवृत्ति वर्तमानमा व्यापक मात्रामा छ। प्रविधिको दुरुपयोग गरेका कारणले समस्या वर्तमानमा पनि नउठेका होइनन्। यही कुरालाई निबन्धकारले उठाएका छन्।

निबन्धहरू पढिरहँदा आकारगत तथा प्रस्तुतिगत हिसाबमा छोटा छन्। उठाएको विषयको गन्तव्यमै नपुगी सकिएको अनूभूति हुन्छ। किनभने एउटा विचार उठाएपछि त्यसको न्यायसङ्गत तरिकाले समापन नगरी निबन्ध सक्नाले पाठकले केही कमी महसुुस गर्न सक्छन्।

अर्कोतिर विचार, हास्य तथा व्यङ्ग्यको सन्तुलन मिलाउन अझै प्रयत्न गर्नुपर्ने देखिन्छ। कतिपय निबन्धमा हास्य कम छ। कतिपय निबन्धमा विचार छिरोलिएको छ। हास्य छिरोलिएको छ। व्यङ्ग्य छिरोलिएको छ। विचार पक्ष उन्नत छैनन्। अर्थात् विचार, हास्य तथा व्यङ्ग्यको सिलिङ पुगेको छैन। कतिपय निबन्धमा व्यङ्ग्य कसलाई गरेको भनेर पनि प्रष्ट छैन।

अब अन्त्यमा, हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीका लेखनीमा केही खास विशेषता पाइन्छ। विशेषतः सामाजिक विषय छानेका छन्। निबन्धमा प्रयुक्त तथ्याङ्क अनुसन्धान गरी लेखिएको पाइन्छ। किनभने निबन्धमा भएका सूचनामा सत्यता हुनु जरुरी छ। निबन्धका तथ्यहरूमाथि सर्जकको जिम्मेवारी तथा सत्यताको दायित्व हुन्छ।

भाषा प्रक्षेपणमा सुन्दरता देखिन्छ। अनुप्रास मिलाउने, उखान तथा टुक्काको प्रयोग गर्ने, टुक्काले प्रहार गर्ने तथा शालिन तरिकाले आक्रमण गर्ने शैली देखिन्छ। जहाँ जुन वादका थिममा निबन्ध लेखिएका छन्, त्यहाँ प्रगति खोजिएको छ। अपूर्णता देखाइएको छ। अर्थात् परम्परावादमा पनि निबन्धकार सुधार खोज्छन्। सुधारका लागि व्यङ्ग्य प्रहार गर्छन्।

म निबन्धकार कार्कीको निबन्धकारितालाई धन्यवाद भन्छु र कृतिको सफलताको कामना गर्छु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *