माधव नेपालको पीडा : वर्तमान सत्ता गठबन्धनमा रहे अपमान, छाडे पार्टी नै विभाजन

शरद रिजाल
१८ जेठ २०८१ ७:१०

काठमाडौं। अहिलेको नेपाली राजनीतिमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल सर्वाधिक संकटमा परेका पात्र हुन्।

आफैंले लामो समय नेतृत्व गरेको र निर्माणमा मुख्य भूमिका खेलेको दल एमालेबाट विभाजित भएर राजनीतिक जीवनको उत्तरार्धमा नयाँ दल स्थापित गर्न तम्सिएका उनलाई दल जोगाउनै मुस्किल पर्ने अवस्था निम्तिएको छ।

वर्तमान सत्ता गठबन्धनमा सहभागिता जनाउँदै सरकारमा सामेल उनको दललाई सत्ता गठबन्धनका नेताहरुले गरेको उपेक्षा र प्रधानमन्त्रीको बेवास्ताले वर्तमान सरकार ‘निल्नु न ओकल्नु’ भएको छ।

पूर्वसहकर्मी एमाले अध्यक्ष केपी ओलीसँगको तिक्तता र सत्ता गठबन्धनको पटक पटकको उपेक्षाले आजित भएका नेपाल राजनीतिक रुपमा निकै अन्योलपूर्ण अवस्थामा पुगेका छन्।

यही अन्योलताले बढाएको राजनीतिक छटपटीले भौतारिँदै उनी विपक्षी दलको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए।

सत्तारुढ गठबन्धनमा आबद्धता जनाउँदै बुधबार देउवा निवासमा कांग्रेससहित जसपा, लोसपालगायतका विपक्षी दलहरुको बैठकमा सहभागी भएपछि उनीप्रति झनै आशंका बढेको छ।

आफ्नै दलभित्रको असहयोगले झनै समस्या थपिएपछि सरकारमा रहने या बाहिरिने विषयमा ठोस निर्णय गर्न नसक्ने गरि बिलखबन्दमा परेका छन्। पार्टीका अर्का सम्मानित नेता झलनाथ खनालले वर्तमान गठबन्धन निरन्तरताको पक्षमा दृढतापूर्वक उभिएका छन्।

उनले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पु्गेर सत्ता गठबन्धनको पक्षमा रहेको बताउँदै वामपन्थीदलबीच सहकार्य यथावत हुनुपर्ने आफ्नो अडान सुनाएका थिए।

अध्यक्ष नेपाल भने गठबन्धनको भावना विपरित कांग्रेस सभापति देउवासँग हिमचिम बढाउँदै लगेका छन्। यसले पार्टीमा निकै ठूलो अन्तरविरोध सिर्जना गरेको एकीकृत समाजवादी सम्बद्ध स्रोत बताउँछ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक गठबन्धन परिवर्तन गर्दा आफूलाई वेवास्ता गरेको गुनासो नेपालले गर्दै आएका थिए।

संसदीय अंकगणितमा कमजोर मानिएको नेपालको दलले सरकारको भविष्य निर्धारण नगर्ने भएकाले पनि सत्तारुढ दलका नेताहरुले उनलाई खासै महत्त्व दिएका छैनन्।

यसैलाई अपमान ठानेका उनले ‘देखाइदिने’ घुर्की दिँदै कांग्रेस र जसपासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सम्मको पहल केही समय अघि थालेको बताइएको थियो।

यद्यपि जसपाको विभाजनले मत्थर भएको उनको गठबन्धन पविर्तनको अतृप्त योजना फेरि सल्बलाउन थालेको राजनीतिक वृत्तमा चर्चा छ।

उनकै दलमा समेत जसपाको रोग बल्झिने खतरा देखेरै जसपा विभाजित भए लगत्तै संसदीय दलको बैठक बोलाएका थिए। पार्टीमा अधिकांश नेताहरुले वर्तमान गठबन्धन टिकाउनुपर्ने बताइरहँदा नेपाल भने एमाले अध्यक्ष ओलीको उपेक्षाले  ‘नखाउँ भने दिनभरिको सिकार खाउँ त कान्छा बाउको अनुहार’को स्थितिमा पुगेका छन्।

विगत एउटै पार्टीमा रहँदाको टसल र विभाजन पछिको तिक्तताले ओली नेपालको सम्बन्ध निकै कटुतापूर्ण छ। नेपालप्रति अनुदार रहँदै आएका ओलीले उनको कमजोर संसदीय अंकगणितलाई खासै महत्व दिएका छैनन्।

वर्तमान गठबन्धनको मुख्य घटक एमाले भएकाले प्रधानमन्त्री प्रचण्ड पनि ओलीलाई चिढाउने पक्षमा छैनन्। नेपाल बाहिरिए पनि सरकारलाई कुनै असर नपर्ने बिहीबार विराटनगर पुगेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा बताइसकेका छन्।

सरकारमा रहे अपमान सहनुपर्ने बाहिरिए पार्टी नै नरहने जोखिमपूर्ण अवस्थामा नेपाल पुगेका छन्। उनले वर्तमान गठबन्धन परित्याग गरे उनका दलका अधिकांश सांसद अलग हुने सम्भावना रहेको जानकार स्रोत बताउँछ।

संसदीय हैसियत स्वतन्त्र कायम भएको उनको दलका सांसदलाई दलीय हैसियतमा कारबाही गर्ने अवस्था छैन। त्यसैले वर्तमान सरकार छाडे पार्टी नै नरहने रहिरहे अपमान सहनुपर्ने कठीन अवस्थामा नेपाल पुगेका छन्।

जसपाको दल विभाजन गरेर उपेन्द्र यादव पक्षलाई सरकारबाट लखेटेका ओली प्रचण्डले आफ्नो दलमा पनि विभाजन ल्याउन सक्ने खतरा उनले नजिकबाट नियालेका छन्।

यद्यपि सर्वोच्च अदालतले जसपा विभाजन पछि निर्वाचन आयोगले गरेको दल दर्तासम्बन्धी निर्णयलाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।

यही वर्तमान सत्ता गठबन्धनमा सहभागी भएकै कारणले सुदूपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले पाएको छ। यही गठबन्धन त्यागरे हिँडे सो प्रदेशको नेतृत्व पनि गुम्ने र राजनीतिक रुपमा झनै अलपत्र पर्ने अवस्था आउने भय उनमा व्याप्त छ।

आफ्नो कष्टप्रद राजनीतिक अवस्थाको निकासका लागि यताउता भौतारिरहेका उनी विपक्षी गठबन्धनमा पुगे पनि पार लाग्ने अवस्था छैन। किनभने सत्तारुढ दलका शीर्ष नेताहरुले जसपा विभाजन गरेर सात सांसद आफ्नो पक्षमा लिँदै नयाँ वैकल्पिक गठबन्धनका लागि संसदीय अंकगणित नपुग्ने अवस्थामा पुर्याइदिएका छन्।

आफूलाई अपमान असैह्य हुने अभिव्यक्ति नेपालले बारम्बार व्यक्त गर्छन्। तथापि उनको शक्तिहीनताले उनी जता गए पनि उनको राजनीतिक उद्धार हुने गरि कुनै निकास निस्कने सम्भावना छैन।

यही बुझेर नै सत्ता सहयात्री दलका शीर्ष नेताहरुले नेपाललाई ‘कहाँ जालास् मछली मेरै ढडिया’ भनेझैं सदैव अपमानित तुल्याइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *