अनुमति नलिइ कालापत्थरमा रेस्लिङ

डिसी नेपाल
२५ जेठ २०८१ १२:०२
228
Shares

काठमाडौं। विश्व कीर्तिमान कायम गर्ने भन्दै सगरमाथाको कालापत्थरमा बिना अनुमति रेस्लिङ खेलको आयोजना गरेको खुलेको छ। पर्यटन विभागसँग अनुमति नलिइ नेपाल महिला रेस्लिङ फाउन्डेशनले मे २९ मा सगरमाथाको कालापत्थरमा रेस्लिङ आयोजना गरेको खुलेको हो।

फाउन्डेशनले पर्यटन विभागको अनुमति नलिइ कालापत्थरमा रेस्लिङ खेल आयोजना गरेको विभागका निर्देशक एवं प्रवक्ता कालीबहादुर भुजेलले जानकारी दिए। बिना अनुमति रेस्लिङ खेल आयोजना गरेको पुष्टि भइसके पनि विभागले सो फाउन्डेनशलाई कुनै कारवाही भने गरेको छैन। विभागले कारवाहीको कुनै प्रक्रिया समेत अघि बढाएको छैन।

‘हामीले उहाँहरुलाई मौखिक रुपमा मात्र सोधेका छौं। उहाँले रेस्लिङ खेलाएको होइन भन्नु भएको छ,’ विभागका प्रवक्ता कालीबहादुर भुजेलले डिसी नेपालसँग भने, ‘आगामी वर्ष अनुमति पाएमात्र रेस्लिङ खेलाउने हो अहिले त्यहाँको अवस्था बुझ्न मात्र गएका हौं भन्नु भएको छ। यो विषयमा विभाग थप बुझ्ने तयारीमा छ।’

नेपाल महिला रेस्लिङ फाउन्डेशनले विभागसँग आफूहरुले रिङ र रेस्लर केही पनि नलगेको र खाली डेमो गर्ने गरी मात्र गएको दाबी गरेको छ। विभागले पनि यसमाथि कारवाही अगाडि बढाउन आनाकानी गरेको छ।

सगरमाथा राष्ट्रिय निकुञ्जले पनि रेस्लिङको लागि कुनै अनुमति नलिएको जनाएको छ। नियमअनुसार पर्यटन विभाग र सगरमाथा राष्ट्रिय निकुञ्जबाट अनुमति नलिइ सगरमाथा राष्ट्रिय निकुञ्जभित्र कुनै पनि गतिविधि गर्न पाइँदैन।

रेस्लिङ आयोजकले भने आफूहरुले विश्वकै अग्लो स्थानमा प्रतियोगिता गरेर किर्तिमान बनाएको दावी गरेको छ। तर, अनुमति नलिइ गरिएको हुँदा यसले मान्यता भने पाउँदैन।

प्रतियोगितामा नेपाली महिला रेस्लर भगवती खड्का र अमेरिकी महिला रेस्लर डानियल मोरिसनबीच प्रतिस्पर्धा भएको र नेपालकी खड्काले जितेको बताइएको छ । खड्का नेपाल महिला रेस्लिङ फाउण्डेशनकी अध्यक्ष पनि हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *