अभिलेखालयका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन अपरिहार्य: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

डिसी नेपाल
२७ साउन २०८३ १०:४५

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन्।

मंगलबार साँझ अभिलेखालयको अवलोकनका क्रममा मन्त्री वाग्लेले यहाँ सङ्ग्रहित ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्तावेजहरू नेपालका अमूल्य सम्पत्ति भएकाले तिनको जगेर्ना गर्नु अपरिहार्य रहेको बताए।

अभिलेखालयलाई ज्ञान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले भने-

“नेपालका ऐतिहासिक दस्तावेजहरूलाई सुरक्षित राख्न यहाँका कर्मचारीले गरेको प्रयास सराहनीय छ। अध्येता, विद्यार्थी र इतिहासमा चासो राख्नेहरूका लागि यो अध्ययनको प्रमुख केन्द्र बन्नुपर्छ। यसको संरक्षणमा सबैले हातेमालो गरौँ।”

अवलोकनका क्रममा मन्त्री वाग्लेले विगतका शासन व्यवस्थाका आर्थिक तथा राजनीतिक गतिविधि समेटिएका दस्तावेजहरूबारे जानकारी लिनुका साथै अभिलेखालयले पाउँदै आएको बजेट र कार्यक्रमको प्रभावकारिताबारे चासो व्यक्त गरेका थिए।

स्रोत र साधनको अभाव मुख्य चुनौती

सो अवसरमा पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले अर्थमन्त्री डा. वाग्लेलाई अभिलेखालयको वस्तुस्थितिबारे जानकारी गराएकी थिइन्। महानिर्देशक प्रधानाङ्गले स्रोत र साधनको कमीका कारण महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजहरूको संरक्षण गर्न चुनौतीपूर्ण बनेको बताइन्।

सुविधासम्पन्न भौतिक पूर्वाधारको अभावमा अभिलेखहरू सुरक्षित राख्न कठिन भइरहेको उल्लेख गर्दै प्रधानाङ्गले स्रोत अभावकै कारण अभिलेखालयको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारलाई समेत यथेष्ट रूपमा बुझाउन नसकिएको स्पष्ट पारिन्।

महानिर्देशक प्रधानाङ्गले नयाँ स्थानमा उपयुक्त जग्गासहितको आधुनिक भवन निर्माण, अभिलेख सुरक्षित राख्न आधुनिक प्रविधिको प्रयोग र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि बजेटमार्फत आवश्यक लगानी गरिदिन अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *