पशुपतिनाथ भेटी प्रकरणः पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं। काठमाडौं जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा वडा नं. ९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ का २९ वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन् ।
अदालतले काठमाडौँ महानगरपालिका वडा नं. ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका सबै अभियुक्तविरुद्ध डाँका चोरी मुद्दा दर्ता गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment