माओवादीभित्र अन्तरसंघर्ष

लोकतान्त्रिकरणको प्रयत्न थालेका जनार्दनमाथि प्रचण्डको प्रहार

विभाजनको हल्ला फैलाएर आक्रमण

शरद रिजाल
१२ असार २०८१ ७:४४

काठमाडौं। सत्तारुढ नेकपा(माओवादी केन्द्र)मा करिब चार दशक पार्टी नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्डको एकल बर्चस्व कायम रहँदै आएको छ।

२०४३ सालको अन्त्यदेखि तत्कालीन नेकपा(मशाल)को नेतृत्वमा आएका उनी त्यसयता सोही दलको विभिन्न घटक हुँदै माओवादी केन्द्रको अध्यक्षका रुपमा आजपर्यन्त नेतृत्वमै छन्।

पार्टीमा बहुपदीय प्रणाली लागू गरिए पनि अन्तिम निर्णायक अधिकार प्रचण्डले आफैंमा निहीत गरेका छन्। जनयुद्धकालमा माओवादीले गरेको नेतृत्वको केन्द्रीकरण अहिले पनि यथावत छ। एकल प्राधिकार पचण्डमा निहीत गरिएपछि उनकै एकल मनोमानी अनुरुप पार्टी सञ्चालन हुँदै आएको छ।

प्रचण्डकै नेतृत्वमा माओवादीले दश वर्ष जनयुद्ध सञ्चालन गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण भएको पनि दुई दशक पार गर्न लागेको छ। तथापि पार्टीमा भावी नेतृत्वको विकास नहुँदा उनी पछिको उत्तराधिकारीको निर्माण हुन सकेको छैन।

माओवादीमा तीव्र विभाजनको प्रक्रिया सुरु नहुँदै प्रचण्डविरुद्ध वैचारिक र राजनीतिक रुपमा विमति राखेर अन्तरसंघर्ष गरेका नेताहरु अहिले अलग भइसकेका छन्।

एक पछि अर्को गर्दै शीर्ष नेताहरु बाहिरिए पछि प्रचण्ड पार्टीमा थप बलशाली हुँदै निर्विकल्प देखिएका छन्। आफूविरुद्ध खडा हुने सम्भावित पात्रलाई किनाराकृत गर्दै बाहिरिन बाध्य पार्ने उनको प्रवृत्ति अहिले पनि कायमै छ।

माओवादीले गत वर्ष फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको पहिलो विधान सम्मेलनमा समेत पार्टीका सम्पूर्ण पार्टी नेतृत्वसहित पदाधिकारीहरु प्रत्यक्ष निर्वाचित हुनुपर्ने विषय उठेको थियो। पार्टी उपमहासचिव जर्नादन शर्माले पार्टीका सम्पूर्ण पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था लागू गर्नुपर्ने पूरक प्रस्ताव पेस गरेका थिए।

तर उनको प्रस्तावलाई लत्याउँदै माओवादीको विधान सम्मेलन औपचारिकतामा मात्रै सीमित गरेको थियो। विधान अधिवेशनबाट पारित गरिएका प्रावधान पार्टीले कार्यान्वयन गर्न सकेको छैन।

अझै आफूले राखेको सोही प्रस्तावका कारण पार्टीभित्र उपेक्षित गरिएको गुनासो शर्माले आफ्नो लिखित असहमति पत्रमै उल्लेख गरेका थिए।

उनले गत वर्ष फागुन १५ मा नेताहरुको कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै पार्टीमा पेस गरेको असहमति पत्रमा विधान सम्मेलनको आफ्नो प्रस्तावलाई पूर्णतया टार्ने काम गरिएको बताएका थिए।

माओवादीभित्र लोकतान्त्रिक अभ्यासको प्रयत्न थालेका शर्मामाथि अहिले पार्टी विभाजनको हल्ला फिजाएर समेत आक्रमण गर्न थालिएको उनी निकट नेताहरु बताउँछन्।

पार्टीलाई विधि र पद्धतिमा चलाउन लोकतान्त्रिक प्रतिस्पर्धा मार्फत नेतृत्व चयन गर्नुपर्ने पक्षमा उपमहासचिव शर्मा छन्। उनको सोही अडानले नै अहिले माओवादीमा लोकतान्त्रिकरणको बहस सतहमा आएको छ। र, उनी प्रचण्डको निशानामा परेका छन्।

प्रचण्डकै तुषस्वरुप शर्मालाई पछिल्लो समय पार्टीले तय गरेको कार्य विभाजनमा भूमिकाविहीन बनाइएको बताइन्छ। उनलाई भूगोलको कार्यकारी जिम्मेवारीबाट विमुख गरिएको छ।

सुदूरपश्चिमका उनी पक्षीय नेता खगराज भट्टलाई पनि इन्चार्ज र प्रदेश संसदीय दलको नेताबाट हटाइएको छ। यस्तै कर्णालीमा शर्मा पक्षीय माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई हटाएर सरकारको नेतृत्व एमालेलाई दिइएको छ।

कर्णाली सरकारको नेतृत्व छाड्न नहुने उपमहासचिव शर्माको अडान विपरित प्रचण्डले त्यहाँको नेतृत्व एमालेलाई दिन तयार भएका थिए। त्यसपछि प्रचण्डसँग शर्मा थप रुष्ट भएको बताइन्छ।

विगतदेखि निरन्तर शक्तिशाली नेतृत्वमा रहेका प्रचण्डको विरुद्धमा विमति राख्नेहरु पार्टीमा नरहेको इतिहास छ। उनको विरुद्धमा फक मत राख्ने नेताहरु पार्टीबाट सबै बाहिरिन बाध्य भएका छन्।

हालसालै त्यस्तो आँट शर्माले गरे पछि उनै शर्मा लक्षित पार्टी विभाजनको हल्ला फिजाइएको माओवादी स्रोत बताउँछ।

संयोग नै मान्नुपर्छ, माओवादीमा यस अघि प्रचण्डको विरुद्धमा फरक मत राख्नेहरु राजनीतिक रुपमा नेतृत्वलाई आरोपित गर्दै आफैं बाहिरिएका थिए। तर शर्माको हकमा भने विभाजनको हल्ला नेतृत्वमा रहेका प्रचण्ड स्वयम्ले फैलाउँदै आइरहेका छन्।

उनले केही समय अघि गण्डकी प्रदेशको पार्टी प्रशीक्षणमा सोही संकेत गरेका थिए। उनले विगतका विभाजनले औचित्य पुष्टि गर्न नसकेको र अब पनि कोही विभाजित भएमा त्यसको पछि नलाग्न कार्यकर्तालाई सुझाब दिएका थिए।

प्रचण्डको आफूलक्षित पार्टी विभाजनको हल्लालाई शर्माले खण्डन गसिकेका छन्। उनले शनिबार पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनमा पार्टी विभाजनको हल्ला पार्टी निर्माणको विरुद्धमा गरिएको बताएका थिए।

‘पार्टी फुट्दैछ भनेर होहल्ला मच्चाउने कस्तो बिडम्बना, विधिको प्रश्न कसैले उठायो भने, पद्धतिको कुरा कसैले उठायो भने, कसैले प्रश्न गर्‍याे  भने त्यसलाई फुटाउँदैछ भन्दिसकेपछि फेरि प्रश्न गर्नै नसक्ने बनाइदिने संस्कार छ,’ उनले बुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा भनेका थिए।

विभाजनका होहल्लाहरु बिल्कुलै झुटा र गलत भएकाले खण्डन गरेको उनको भनाइ थियो। उनले सो हल्ला पार्टी निर्माणका विरुद्ध र पार्टी राम्रो बनाउनेका विरुद्धमा गरिएको बताएका थिए।

‘यदि पार्टीमा विधि स्थापित गर्ने प्रश्न उठाउने होइन भने पार्टीमा भएका कमिकमजोरी बारे प्रश्न उठाउने होइन भने यो पार्टी जीवित रहन सक्छ?’, उनले थप अगाडि भनेका थिए, ‘यो पार्टीलाई जिवीत राख्ने, यो पार्टीलाई सबल गराउने र निर्माण गर्ने उद्देश्यका साथ गरिएका बहसहरुलाई अर्कोतिर मोड्दै पार्टी फुट र विभाजन हुँदैछ भन्ने हल्ला पिटाइँदै छ त्यसप्रति मेरो घोर आपत्ति छ।’

माओवादीमा प्रचण्डको एकल व्यक्तिवादका विरुद्धमा शर्माले आफूलाई उभ्याएका छन्। यद्यपि प्रचण्डको कार्यशैलीविरुद्धकोे उनको विमति कहाँ गएर टुंगिन्छ त्यसको यकिन छैन। प्रचण्डको एकल मनोमानीको विरुद्धमा शर्माले थालेकोे संघर्षले सार्थकता पाउन पनि निकै कठिन देखिएको छ।

तथापि प्रचण्डले भनेजस्तै विभाजित हुने सम्भावना भने शर्माको तर्फबाट नरहेको माओवादी स्रोत बताउँछ। प्रचण्ड पनि शर्माको प्रस्ताव स्वीकार गरेर बलशाली नेतृत्वबाट विमुख हुन पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास गराउने पक्षमा तयार छैनन्।

चार दशकदेखिको आफ्नो एकल नेतृत्व गुम्ने भय र जीवन पर्यन्त प्रचण्डको नेतृत्व मोहले सहजै पार्टीमा आन्तरिक लोकतन्त्र अभ्यासको सम्भावना न्यून रहेको माओवादी नेताहरु बताउँछन्।

यद्यपि प्रचण्डले शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा छिट्टै केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति निर्धारण गरिने उद्घोष गरेका छन्।

पार्टीभित्रको तीव्र आन्तरिक दबावले प्रचण्ड विशेष महाधिवेशनका लागि तयार भएको आँकलन गरिएको छ ।

विशेष महाधिवेशन भए त्यसमा पार्टीको आगामी नीति र नेतृत्वका लागि लोकतान्त्रिक विधी तय गर्नुपर्ने प्रस्तावको पक्षमा पेचिलो तवरले बहस हुने माओवादीभित्र चर्चा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *