विपद्जन्य घटनामा एक सय २४ को मृत्यु

डिसी नेपाल
२ साउन २०८१ २१:०८
24
Shares

काठमाडौं। अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‍मा परी आजसम्म मृत्यु हुनेको संख्या एक सय २४ पुगेको छ।

बाढीपहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्‍चिम प्रदेशमा ११ गरी जम्मा एक सय ४० जना घाइते भएका छन्।

प्रहरीले कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको जनाएको छ। बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी भइरहेको जनाइएको छ। सिमलताल दुर्घटनामा बेपत्ता भएकाहरुको तथ्यांक यहाँ समावेश गरिएको छैन।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन्। दुई सय १८ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ। पाँच सय ८४ पशुचौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‍का घटनाबाट तीन हजार सात सय दुई परिवार विस्थापित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *