पहिरामा परी ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग
गण्डकी। युनाइटेड क्लब पोखराले अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ। क्लबले पोखरा महानगरपालिका–३२ चैनपुर, पोखरा–२७ अर्चले र पोखरा–१९ पुरनचौरमा पहिरामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो।
आर्थिक सहयोगअन्तर्गत पोखरा–३२ चैनपुरका स्व आरती ओझाको परिवारलाई रु १० हजार, पोखरा–२७ अर्चलेका स्वर्गीय अनमोल सुनार र भीम थापाको परिवारलाई रु १०–१० हजार तथा पोखरा–१९ पुरनचौरका पहिरोबाट सातजना परिवार गुमाएका पवन परियारलाई रु २५ हजार नगद प्रदान गरेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।
क्लबले स्थापनाकालदेखि तिहारका अवसरमा आयोजना गर्ने देउसीभैलो कार्यक्रमबाट संकलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरी त्यसैमार्फत विपद्मा परेकाहरूलाई सहयोग गर्दै आएको उनले बताए। अध्यक्ष श्रेष्ठले असारमा अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाएका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग गरिएको जानकारी दिए।
क्लबका महासचिव दिनेश सुनारले संस्थाको विपद् व्यवस्थापन कोषबाट पश्चिम कैलालीदेखि पूर्वमा उदयपुरसम्म विपद्मा परेकालाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमाल बख्रेल, वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, सल्लाहकार रमेश कार्कीलगायतको उपस्थिति थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment