दुई संसदीय समितिका सभापतिले लिए शपथ

डिसी नेपाल
३१ साउन २०८१ १७:३५
64
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले संघीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सिंहदरबारमा आज आयोजित कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपानेले शपथ लिए।

समिति सभापतिमा निर्वाचित भइसकेपछि कार्यभार सम्हाल्नुअघि सभामुखसँग शपथ लिनुपर्ने प्रावधान छ। शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गरे। न्यौपाने नेपाली कांग्रेस र गैरे नेकपा (एमाले) सँग आबद्ध छन्।

शपथपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनीहरूले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

सो कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे, नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रमुख सचेतक र मुख्य सचेतकलगायत उपस्थित थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *