जनताका नाममा कार्यक्रम राख्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
३१ साउन २०८१ २०:२९
52
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा कार्यक्रमहरु तय गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आजको बैठकमा मन्त्री, सचिवलगायतलाई निर्देशन दिँदै उनले प्रधानमन्त्रीलगायतका नामको साटो जनताका नाममा कार्यक्रम बनाउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

‘कार्यक्रमहरु प्रधानमन्त्रीलगायतका ठूला नाममा राख्ने काम भयो, यही सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्। यो परिपाटीलाई बदलेर जनतासँग रोजगारजस्ता कार्यक्रम राख्न निर्देशन दिन्छु। नयाँपन दिने गरी काम गर्नुहोस्’, उनले भने।

प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न निर्देशन पनि दिए। उनले पुँजीगत खर्च बेरुजु नहुने गरी शतप्रतिशत खर्च गर्न, दसौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउन आवश्यक प्रस्ताव ल्याउन पनि निर्देशन दिएका थिए।

बैठकमा उनले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन र कृषि उपजको निर्यात हुने गरी आधार तय गर्न समेत निर्देशन दिए। ‘गरिबलाई कानुन देखाएर मात्रै हुँदैन, उनीहरुलाई केन्द्रमा राखेर विकासका कार्यक्रम तय गर्न सकियो भने मात्रै अर्थपूर्ण रहन्छ’, प्रधानमन्त्री ओलीले भने।

यसअघि आजको बैठकमा प्रधानमन्त्रीले विभिन्न मन्त्रालयका मन्त्रीलगायतलाई निर्देशन दिँदै एक सय दिनभित्र उपलब्धिपूर्ण काम गर्ने गरी कार्यक्रम निर्माण र कार्यान्वयन गर्न निर्देशन दिएका थिए। बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरुको सहभागिता थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *