सबै जातजातिका परम्परागत संस्कृतिको जगेर्ना गर्नुपर्छ: अध्यक्ष नेपाल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत मौलिक संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप बलियो बनाउन सकिने बताएका छन्।
समाजवादी प्रेस संगठनद्वारा हरितालिका तीज पर्वका अवसरमा आज आयोजित सांस्कृतिक कार्यक्रम शुभारम्भ गर्दै अध्यक्ष नेपालले सबै जातजातिका समुदायले परम्परागत रुपमा मनाउँदै आएको पर्व संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने बताएका हुन्।
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाड पर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले संस्कृतिको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अध्यक्ष नेपालले सामाजिक असमानताको अन्त्य गरी पारस्पारिक सम्मान, सहअस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्न तथा महिला सशक्तिकरणका लागि हरितालिका तीजले सन्देश प्रवाह गरेको विचार व्यक्त गरे। मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले राष्ट्रको गौरव बढाउने उनको भनाइ छ।
उनले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसंगतीलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने उल्लेख गरे।
अध्यक्ष नेपालले आफ्नो पार्टी सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा प्रतिबद्ध रहेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment