संस्मरण : परदेश, कोरोना र तीज

सुरेश राई
१२ भदौ २०८१ ११:२५
256
Shares

सम्झना भनेको के हो? घटना हो? स्थिति हो? कि अनुभूति हो? कि सबैको तादाम्यता हो? सागरको छातीमा डुब्न गइरहेको सूर्यलाई हेरेर बसिरहेको एक वयोवृद्धको मनमा त्यो सूर्यास्त कस्तो सम्झना हुन जाला? आफ्नी प्रेमीकाको कोमल औंलाहरु चुम्दै बसिरहेको कुनै नौजवानको निम्ति त्यो सूर्यास्त कस्तो सम्झना होला?

केही बेरपछि आत्महत्या गर्न गइरहेको कुनै दु:खीले आफ्नो कायाको अन्तिम दृश्य अभिलेखको रुपमा त्यो सूर्यास्तलाई हेरिरहेको छ भने त्यो कस्तो सम्झना हुन जाला? सायद सम्झना भोगिरहेको

व्यक्ति , तत्कालीन स्थान,उसको मनको स्थिति र घटना मिलेर बनेको सिनेमा हो । सम्झना विगतको बन्छ भविष्यको बन्दैन यो नै उसको ‘उसूल’ हो ।

‘सुरेश जी, माकाडक्स् तीज मनाउने रे त हाउ ! केटाहर्ले फोन गर्‍या गर्‍यै छ तौ !’ फोनमा सागर पापुहाङले हतारिँदै भन्नु भो । ‘माकाडक्स’ सागर पापुहाङजीको थेगो थियो जसको कुनै अर्थ थियो कि भनेर मैले उनलाई कहिले सोधिनँ। म अर्ध निद्रामै थिएँ । हत्तपत्त मोबाइलको एक थोप्लामाथि तीन धर्के चिन्हलाई दायाँ हातको चोर औंलाले ट्वाक्क छोइदिएँ , वाईफाई टिप्यो । नेट चल्यो र टिङका टिङ म्यासेजहरु ओइरिए ।

‘दिउँसै कति सुतेकौ दाइ ? उठ्नु क्या , ह्याँ मैले तीजको प्लान बनाइसकेको छु’- विशाल बस्नेत ।

‘ दाइ सुत्नु भाको हो? केटाहरु यसो रमाइलो गरुम भन्दै थे’

– रबिन्द्र तामाङ ।

‘दाइ’ – राजन भण्डारी ।

अति कम बोल्ने स्वभाव भएको राजन भाइको म्यासेज पनि कमै थियो सिर्फ ‘दाइ’

परदेशमा हुनेहरुलाई उसको कामको छुट्टी र नेपालमा चाडबाड एकैदिन पर्न गएमा त्यो ज्यादै सुखद संयोग हुन जान्छ। अफसोस् यस्ता संयोगहरु अक्सर मिल्दा पनि मिल्दैनन्। त्यसैले या त तिथिअगाडि नै अग्रिम रुपमा या त तिथि गुज्रिसकेपछि भए पनि मनाउने गरिन्छ।

हामी पनि तिथिले भर्खरै छाडेर गएको तीजलाई तानेर ल्याउने योजनामा थियौं। सामान्यतया पुरुषहरुलाई तीज खासै मनाइरहनु पर्ने चाड नहुन पनि सक्छ। तर हप्ताभरिको कामको थकानबाट उम्किएर यसो भेला भइ रमाइलो गरौं न भन्ने परदेशीहरुलाई नि?

अर्कोतिर कोरोना त्रासको छायाँ हटिसकेको थिएन। जिन्दगी दुई दिनको छ भन्ने कुरा अवगत गराउन के कोरोनाले निम्त्याएको त्रासदी पर्याप्त थिएन र ? के अब पनि हाँस्न ढिला गर्ने छुट छ र? अथवा के अब पनि हाँसेर बाँच्नका निम्ति मान्छेलाई ठूलो खुशी या बहाना चाहिन्छ र?

जिन्दगीलाई श्वास प्रश्वास नै गौरवपूर्ण काम भइसकेको थियो। वातावरणमा जताततै अक्सिजन त थियो तर मान्छेका अक्सिजन खिच्न सक्ने ‘फोक्सोयन्त्र’ नै ‘नाकाम’ भएका थिए। सिलिन्डरमा भरेर अक्सिजन मानिसका शरीरमा पठाइँदै थिए । विश्व अनिश्चितताको भुमरीमा जाक्किएको थियो।

‘सागर जी, भेट कहाँ हुने रे ? लालीगुराँस,नेवारी, हिमालयन कि कान्तिपुर ?’ कोरियामा भएपनि होटलका नामहरु जम्मै स्वदेशी छन्। गजब लाग्छ। केहीबेरपछि उत्तर आयो ‘होइन रे हौ सुरेश जी ! माकाडक्स् ठाउँ त विशालले हेरेको छ रे हौ ! होटल सोटल होइन रे ‘ हुन पनि हो, कोरोनाको भयले होटलहरु पहिले जस्तै निस्फिक्री कहाँ सञ्चालन भइरहेका थिए र ! नियमहरु लागू भएका थिए । सुरक्षा ‘प्रोटोकल’हरु थमाइएका थिए। पहिले पहिले जस्तो मस्तसँग अबेरसम्म बस्न सम्भवै थिएन।

केहीबेरपछि हामी सबैजना भेला भयौं । किनमेलको लागि नजिकैको मार्ट छिर्यौं । जुस,माकल्ली(कोरियन छ्याङ) ,पानी, केही थरी चिप्सहरु, ड्राइ मिट, तैयारी ससेजहरु, नेप्किन्स् र हामीलाई चाहिने चम्चा प्लेट इत्यादि किन्यौं । त्यसपछि हातहातमा सामान भरिएका झोलाहरु झुन्ड्याउँदै हामीहरु मकैको बोटहरुले पूरापूर टम्म ढाकिएको खेतको साँगुरो बाटो हुँदै विशाल भाइले हेरेर ठिक्क पारेको लक्षित स्थानतर्फ लाग्यौं ।

करिब पन्ध्र मिनेटको हिँडाइपछि हाम्रो लोकेशन आइपुग्यो । अहो त्यो बडो अदभूत ठाउँ थियो । मकै नै मकैले ढाकिएका फाँटहरु र ती फाँटहरुको बीचमा जुनेलोको एउटा ठूलो गह्रा।

उक्त जुनेलो गह्राको बीचैमा एक पात चित्राको क्षेत्रफल बराबरको भुइँ ढलान गरिएको, हावामा खेतको बासना मिसिएर फैलिरहेको , निकै मनमोहक स्थान थियो त्यो। किरा फठ्यांग्रोका किरकिर र भ्यागुताहरुको ट्वारट्वार छाडेर त्यहाँ मानव आवाजको कुनै निशानी थिएन । पार्टी गर्नको निमित्त त्यो जस्तो सुन्दर ठाउँ अरु के चाहियो? एउटा प्राकृतिक डिस्कोथेक जस्तो।

ढलान गरिएको सुकिलो भुइँमा बसेर हाम्रो ‘खान्तेपिन्ते’ सुरु भैसकेको थियो। देशको राजनीतिक गफहरु , नेपालमा संचालन भइरहेका रियालिटी शोका कुराहरु , सिन्धुपाल्चोक, खोटाङ, रामेछाप ,इलामदेखि दोलखासम्मका आआफ्ना जिल्लाका ‘आइतेगइते’ कुराहरु सबै सबै व्यक्त भइरहेका थिए। त्यसपछि सुरु भयो नाच्ने कार्यक्रम । मोबाइलमा भर्खरै सर्वत्र चर्चा भइरहेको गायिका विष्णु माझीको गीत चरी जेलैमा बज्न थाल्यो । गीतको पहिलो भाग बज्यो ‘ओम नम शिवाय.. ओम नम शिवाय…’

सागर पापुहाङलाई डान्स स्टेप सिकाउन भनेर तम्सियो विशाल भाइ। आफ्ना दुई हातका नाडीहरु क्रस गर्दै हावामा उचाल्दै ; दायाँ र बायाँ ढल्कँदै यी दुई तन्नेरीहरु निकै नै लामो त्यस गीतको तालमा बेपरबाह नाचिरहे। बस् नाचिरहे ।

यसरी २०७८साल भदौ महिनाको अन्तिम शनिबार त्यो जुनेलो घारीभित्र भएको तीजको मिनि भोजको साक्षी हावामा त्यो बेलाको समय रह्यो; आकाशमा त्यो बेलाको बादल रह्यो र धरतीमा हामी साथीहरु रह्यौं ।

साँझ पर्दै थियो । सगर जलेर लाली छाउन थालेको थियो ।रमाइलो समयलाई केही सेकेन्ड ‘पस’ गरेर यसो आकाशतिर हेरेँ । यी बादलका आँखाहरुले यी मस्तमगन परदेशीहरुलाई माथिबाट हेर्दा कस्तो देखिरहेको होला ! यो विशाल विश्वको एक कुनामा एउटा जुनेलो बारीको बीचमा केही वर्ग फिट ढलान भएको सानो क्षेत्रफल छ जहाँ केही युवाहरु उनको गीतमा नाचेर खुसी बाँडिरहेका छन् ,के यो कुरा गायिका विष्णु माझीले कहिले थाहा पाउने छिन् ?

कला,साहित्य र संगीतको यही एउटा गजबको शक्ति हुन्छ कि त्यसको वासना फैलिएर कहाँ र कसरी पुगेको हुन सक्छ अन्दाजै लाउन सकिन्न । खोटाङ र भोजपुरको बीचमा ट्याम्के डाँडाको शिरमा कुनै किशोर भेडा गोठाला मुर्शिदाबाद पश्चिम बंगालमा जन्मिएका भारतीय गायक अरिजीत सिंहको गीत सुन्दै हुर्किरहेको हुन सक्छ । के यो कुरा उनै अरिजीतलाई कहिले थाहा होला त?

छोटो ग्याप लिएर नेपाल गएको विशाल बस्नेत भाइ भने फेरि कोरिया फर्केन । एक वर्षपछि फेसबुकमा उसलाई सबैले शुभयात्रा भनेर ट्याग गरेको देखेँ । मैले उसलाई सोधेँ ‘कुन देश उड्दैछौ र भाइ ?’ उसले जवाफमा लेख्यो

‘ यूएस दाइ, के गर्नु नेपालमा बसेर केही गर्न सकिने देखिनँ ‘ ऊ कोरियाकै एयरपोर्ट ट्रान्जिट भएर अमेरिका उड्दै थियो ।मैले सिर्फ शुभयात्रा लेखेँ र आफ्नै मनसँग फुस्फुसाएँ-

‘उड भाइ उड , जति टाढा उड्न सक्छौ उड। हामी गरीब देशका चराहरु हौं। उड्न सक्ने जति टाढा टाढा उड्नै पर्छ। यो हाम्रो रहरको छनौट होइन ,अपितु खराब विकल्पहरु मध्यको यौटा रोजाइ हो। अनि उड्दा चाहिँ आफ्नो देशको माया हृदयभरि समेटेर उड्नू र यौटा वाचा आफैसँग गर्नू – कमाउनू, अनभव बटुल्नू, सीप र क्षमता हाँसिल गर्नू तर देश फर्कन कहिल्यै नबिर्सनू’

हो,उसको अबका तीजहरु उतै अमेरिकामा हुनेछ । हामीहरु यसरी नै बाहिर गएर जिउन अभिशप्त हुँदै गइरहेका छौँ । दु:ख यो कुराको छ कि हामीसँग सुन्दरतम् उपायहरु पनि त छैनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *