मिडियाको नाममा अराजकतालाई मलजल गर्ने कारवाहीमा : काउन्सिल अध्यक्ष बस्नेत

डिसी नेपाल
२० भदौ २०८१ २१:०१
24
Shares

काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्।

गैरजिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्युव र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राख्दै कारवाही गर्दै आएको उनले बताए।
‘आफूलाई मिडियाको परिचय दिई विभिन्न स्वार्थ पूरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन्।

समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारवाहीमा परिरहेका छन्, बिहीवार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भने।

उनले योजनावद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले त्यस्ता पत्रकारको कार्ड खोस्नेदेखि हदैसम्मको कारवाही गर्ने अभियानमा काउन्सिल जुटेको जानकारी दिए। उनले स्वतन्त्रताको दुरुपयोग गर्ने मिडियाप्रति जनविश्वास नहुने र आफै खुम्चिने समेत बताए।

‘युट्यूव र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौं भन्नेतर्फ हमेशा ख्याल गर्नुपर्छ। त्यसरी परिचालित हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो। यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ,’ नयाँ अनलाइन, युट्युव माध्यमका सञ्चालक, सम्पादकहरुसँगको अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराउँदै भने।

प्रेस काउन्सिलले युट्यूव माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाई बर्गीकरण गरेको छ। बिना दर्ता सञ्चालनमा रहेका र आपत्तिजनक, गैरजिम्मेवार सञ्जाललाई अपराधजन्य कसुरमा कारवाही गर्दै आएको छ।

पछिल्लो ३ महिना यता ४९ वटा विभिन्न युट्युव च्यानल काउन्सिलको कारवाहीमा परेका छन्। अभिमुखिकरण कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र अनुगमन अधिकृत महेन्द्र सिंहले सञ्चार निर्देशिकाको अवस्थाबारे प्रस्तुति राखेका थिए।

काउन्सिलले २ वर्षयता अनलाईन सञ्चार माध्यमलाई आचारसंहिता पालनामा केन्द्रित गराउन अभिमुखिकरण कक्षालाई अनिवार्य गराएको छ। साथै, सञ्चारमाध्यमका रुपमा चल्ने युट्युव च्यानललाई समेत दर्ता र पत्रकार आचारसंहिताको कक्षा लिनुपर्ने कार्यविधि बनाई लागू गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *