प्रभुरामको पूर्णविराम, नयाँलाई चुनौतीका चाङ

डिसी नेपाल
२४ भदौ २०८१ १०:४७

काठमाडाैं। एउटा सैनिक समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापालाई केही भूतपूर्व रथीहरूले उनका उत्तराधिकारी बारे चासो राख्दै भावी नेतृत्वको चयन के भइरहेको छ भनेर सोधेका थिए।

उनीहरूले घुमाउरो भाषामा उनीपछिका रथी प्रभुराम शर्माको क्षमता, चरित्र र स्वास्थ्यमा प्रश्न चिन्ह उठाउँदै रथी शर्मा नेतृत्व सम्हाल्न असक्षम रहेको जिकिर गरेका थिए।

प्रधान सेनापति थापाले भूतपूर्व रथी हरुलाई प्रतिप्रश्न गर्दै सोधे-यहाँहरु मेरो ठाउँमा भएको भए कसलाई सेनापति दिनुहुन्थ्यो? त्यो प्रश्नपछि रथीहरु नाजवाफ भएका थिए। सेनापति थापाले भने- म एउटा पद्धति, प्रणाली र प्रक्रिया संगठनमा स्थापित गर्न खोज्दै छु। म आफैं आफूलाई रुचि भएको मानिसलाई टपक्क टिपेर सेनापति बनाउने भए एउटा पद्धति प्रणाली प्रक्रिया कसरी स्थापित हुन्छ? मेरो जिम्मेवारी भनेको भावी नेतृत्वलाई सकेसम्म सक्षम र दक्ष बनाई संगठनको बागडोर सुम्पने हो।’

नेपाली सेनाको इतिहासमा पहिलोपल्ट नेतृत्व बदल्ने बेला विद्यमान सेनापतिले भविष्यको सेनापतिलाई च्यापेर उसलाई भविष्यको नेतृत्व लिनलाई एक वर्ष अगाडि नै सबै माझ नामै तोकेर खडा गरिएको प्रथम पटक थियो।

यस्तो किसिमले नेतृत्व सहजै सँग बिना कुनै उतारचढाव वा उच्च अधिकृतहरु बीच खिचातानी बिना नेतृत्व सम्हालेको शायद शर्मा नै पहिलो सेनापति होलान्। तर त्यस्तो सहज ढंगले नेतृत्वमा पुगेका प्रधानसेनापति प्रभुराम शर्माले बागडोर सम्हालेको दिनदेखि नै आफ्ना पूर्ववर्ती सेनापति पूर्णचन्द्र थापाका विरुद्धमा जाइलागेका देखिए। थापा र शर्माको सम्बन्ध सुमधुर बन्न सकेन।

साथसाथै शर्मा शुरुदेखि नै लगातार विवादमा पनि पर्दै गए। नेतृत्व सम्हालेको दिनदेखि नै अन्तिम क्षणसम्म अनेकौ विवादमा मुछिएका सेनापति प्रभुराम शर्मा आजको दिन मितिबाट अवकाश लिँदैछन्।

भूतपूर्व रथीहरूलाई भावी सेनापति भनेर अगाडि सारिएका वरिष्ठ रथी प्रभुराम शर्माको स्वास्थ्यमा कैफियत रहेको कुरा जानकारी रहेछ। तर शर्माले आफ्नो स्वास्थ्यमा जटिल समस्या रहेको कुरा सेनापति हुने बेलामा राम्रैसँग लुकाएका थिए।

सैनिक समारोहहरूमा राष्ट्रगानमा सलामी लिन समेत नसक्ने अवस्थामा पुगेका थिए उनी त्यो बेला। उनीभन्दा कनिष्ठ रथी बालकृष्ण कार्कीलाई प्रमुख समारोहमा प्रमुख अतिथिको रुपमा देख्दा सबै चकित परेका थिए।

पछि उनलाई उपचारका लागि भारत लाने निर्णय गरियो। उनको के रोग के उपचार भन्ने कुरा आजसम्म पनि गुपचुप नै राखियो। भारतमा सैनिक अस्पतालमा उनको उपचारको क्रममा कसले भरपाई गर्‍याे भन्ने कुरा आजसम्म खुल्न सकेको छैन।

भारतबाट फर्केपछि उनलाई भारतीय राजदूत विनयमोहन क्वात्राले एउटा समारोहमा निमन्त्रण गरेर सर्टिफिकेट हस्तान्तरण गरेको खबरले सेनाभित्र मात्र होइन बाहिर पनि निकै चर्चाको विषय बनेको थियो।

एउटा विचारणीय विषय के छ भने अनन्त कार्की प्रेम शाही र ताराध्वज पाण्डे जो प्रधान सेनापतिको लाइनमा थिए तीनैजनालाई प्रभुराम शर्माले फौजबाट निकाल्न एउटा न एउटा तरिका लगाएर लखेटेका थिए।तिनै जना विशेष फौजका थिए। यो घटनाले शर्मामाथि माओवादीको विशेष फौजलाई कमजोर बनाउने नीति अन्तर्गत काम गरेको आरोप लागेको छ। त्यति मात्र नभएर उनले आफ्नो पालामा माओवादीका फौजबाट आएका जर्नेल यमबहादुर अधिकारीलाई तीन वर्ष थप गरेका थिए। यो कानुन विपरीत कार्य थियो।

विनय मोहन क्वात्रा तिनै राजदूत हुन् जसले नेपाली सेनाले सैनिक दिवसको दिनमा सम्मानपत्र दिँदा लिन अस्वीकार गरेका थिए। जबकि चीन र अमेरिकाका राजदूतले सहर्ष स्वीकार गरेका थिए।

प्रधान सेनापतिजस्तो मर्यादित पदको अपहेलना हुने गरी राजदूतले सेनापतिलाई मञ्चमा बोलाएर प्रमाणपत्र दिएको सो घटना नेपाली सेनाको इतिहासको अपमानजनक घटना थियो। तिनै राजदूतलाई सोल्टी होटलको एक समारोहमा प्रधान सेनापतिले सलाम गरेको देखेर जिब्रो काट्ने सैनिक अधिकृतहरु थुप्रै थिए।

उनको कार्यकालको एउटा चर्चित काण्ड हो एसपीपी काण्ड नेपाली सेनाले वक्तव्य निकालेर आफू कुनै पनि सैनिक गठबन्धनमा एसपीपीमार्फत नजोडिएको कुरा जारी गरिएको थियो। त्यसको भोलिपल्टै नेपाली सेनाले अमेरिकी सेनालाई पठाएको पत्र यत्रतत्र पत्रिकामा निस्कियो।

त्यसपछि सेनाले ढाँटेको कुरा छर्लङ भयो। सेनाले ढाट्नुपर्ने लुकाउनुपर्ने कुरा केही नभएपनि सेनापतिले जुन किसिमले कच्चापन देखाए त्यसले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा दरार मात्र आएन यसले सिंगाे संगठनको विश्वसनीयतामा ठूलो प्रश्न चिन्ह खडा गरिदियो।

उनको कार्यकाल अवधिभर उनले आफ्ना पूर्ववर्ती सेनापतिका निकट अधिकृतहरूप्रति प्रतिशोधको भावना राखेका थिए। उनी प्रधान सेनापति हुने बित्तिकै प्रथम प्रतिशोध उपरथी अनन्त कार्कीमाथि साँधे। अनन्त कार्की पूर्वसेनापति पूर्णचन्द्र थापाका नजिक मानिन्थे।

उनको बढुवा नगरिकन घर बसाइएको थियो। त्यसैगरी पूर्णचन्द्र थापा नजिकका उनका सैनिक सहायक उपरथी प्रेम शाहीलाई भ्रष्टाचारको आरोप लगाएर थुनामा राखियो र राजीनामा दिन बाध्य बनाइयो। त्यस्तैगरी महेन्द्र शाहलाई पनि सेनाविरुद्ध काम गरेको भने निकाला गरियो।

एउटा विचारणीय विषय के छ भने अनन्त कार्की प्रेम शाही र ताराध्वज पाण्डे जो प्रधान सेनापतिको लाइनमा थिए तीनैजनालाई प्रभुराम शर्माले फौजबाट निकाल्न एउटा न एउटा तरिका लगाएर लखेटेका थिए।

तिनै जना विशेष फौजका थिए। यो घटनाले शर्मामाथि माओवादीको विशेष फौजलाई कमजोर बनाउने नीति अन्तर्गत काम गरेको आरोप लागेको छ। त्यति मात्र नभएर उनले आफ्नो पालामा माओवादीका फौजबाट आएका जर्नेल यमबहादुर अधिकारीलाई तीन वर्ष थप गरेका थिए। यो कानुन विपरीत कार्य थियो।

माओवादी प्रधानमन्त्री भएको बेलामा माओवादीको प्रधानमन्त्रीसँगको सहकार्यमा यो बढुवा हुँदा उनको ठूलो विरोध भएको थियो। स्रोतका अनुसार माओवादीको सरकारले बढुवा गरेबापत उनलाई अस्ट्रेलियाको राजदूत बनाइदिने वचन दिएको थियो भन्ने चर्चा र शंका त्यहीबेला सेनाका अधिकृतहरूले गर्ने गरेका थिए।

माओवादीप्रति नरम भाव राख्ने व्यक्तिप्रतिको उनको मोह उल्लेख्य रह्यो। प्रचण्डका भान्जी ज्वाई कुमारबाबु थापालाई विशेष बढुवा दिएर उपरथी बनाइएर बिदा गरिएको थियो। यो विशेष बढुवा सैनिक कानुन र नियमको सरासर उल्लंघन गरी गराइएको थियो।

नेपाली सेनाको इतिहासमा पहिलोचोटि दुई महिनाको दौरानमा तीनजना वरिष्ठ अधिकृतहरूले नेपाली सेना विरुद्ध मुद्दा दर्ता गरेका थिए। प्रेम शाही, महेन्द्र जंग शाह र मधुकर सिंह कार्कीले दुई महिनाको अन्तरालमा नेपाली सेनाविरुद्ध सर्वोच्चमा रिट दायर गरी सेनाको विरुद्धमा फैसला लिएर आएका थिए।

तीमध्ये प्रेम शाही र महेन्द्रजंग शाहलाई जागिरबाट निकाला गरियो। कार्की भने एनडीयु कोर्षमा छानिएका थिए। अदालतमा मुद्दा हुँदा हुँदै उनको बढुवा पनि गरिएको थियो।

सेनापति शर्माले कार्यकालको अन्तिममा पनि कुनै पनि पल्टनहरु को भ्रमण नगरिकन भिडियो कन्फ्रेन्सिङ मार्फतै सबैसँग बिदाइ लिएका थिए। यो नेपाली सेनाको इतिहासमा पहिलो मानिन्छ। कार्यालयमै पनि उनको उपस्थिति निकै कम हुने गरेको बताइन्छ।

शान्ति सेनामा चाहिने वस्तुहरू किन्न नसकेको उनलाई आरोप लागेको छ। जसका कारण मिसनहरूमा सामग्रीको अभावले नेपाली फौज फिर्ता आउने सम्भावना बढेको जानकारहरू बताउँछन्।

चीनबाट बक्तरबन्द गाडी किन्दाखेरि भारतबाट आएको दबाब थेग्न नसकेको उनीमाथि आरोप छ। भारतसँग कूटनीतिक हिसाबले कुरा गर्न नसकेको उनीमाथि आरोप छ। पछि भारतको बख्तरबन्द गाडीलाई महंगो मूल्यमा किनिदिएर चीनसंग लिने तय भएका सामग्री किन्नु पर्ने वाध्यता उनलाई आइलागेको थियो।

संयुक्त राष्ट्र संघसँगको सम्बन्धमा पनि ठूलो दरार आउने गरी नेपाली सेनाले उनको पालामा सबैभन्दा वरिष्ठ सैनिक सल्लाहकार पदमा आफ्नो उम्मेदवारी नै दिएको थिएन।

यसअघि नेपालले हमेशा राष्ट्रसंघ र पश्चिमा मुलुकहरूका प्रतिनिधिहरुसँग आफूलाई संयुक्त राष्ट्र संघको उच्च पदहरूमा दाबी राख्ने गरेको थियो तर पद आउन लागेको बेला भने उनले सेनाको तर्फबाट सो पदमा दावी नै छोडिदिएका थिए।

त्यति मात्र नभई नेपाली सेनाको इतिहासमा पहिलोचोटि संयुक्त राष्ट्र संघका लागि भनी छानिएका सैनिक सहचारीलाई चार महिनापछि नै किर्तेकाण्डमा बोलाइएर कारबाही गरी जागिर निकाला गरियो। यसले नेपाली सेनाको संयुक्त राष्ट्रसंघमा ठूलो बेइज्जत भएको कुरा परराष्ट्रका अधिकृतहरुले बताउने गरेका छन्।

नयाँ नेतृत्व चयनमा भएको विवादले नेपाली सेनाको साख गिराएको छ। शर्माले जुन भूमिका खेलेर सहजतापूर्ण ढंगले नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो त्यो नगरिकन विवाद चुलाउनमा उनको अकर्मण्यता प्रमुख कारण थियो।

आज नेपाली सेनाको विश्वासनीयतामा आएको शंकाको भागीदार शर्मालाई नै मान्नुपर्छ जुन किसिमले ताराध्वज पाण्डेको राजीनामा र हालका प्रधान सेनापति अशोक सिग्देलको नागरिकता विवाद उछालियो त्यसमा प्रधान सेनापति शर्माले कुनै पनि अग्रणी भूमिका खेलेर समस्या सुल्झाउन पहल गर्न चाहेनन्।

ताराध्वज पाण्डे र अशोक सिग्देल दुबैको बढुवा समितिको अध्यक्षका रुपमा हस्ताक्षर शर्माले नै गरेका थिए। सेनापतिका प्रमुख दावेदार उपरथी ताराध्वज पाण्डेको कैफियतको बारे पत्रपत्रिकामा निस्किन थालेपछि सेनापति शर्माले पाण्डेको कागजात सबै ठिक भएको भनेर एउटा वक्तव्य जारी गर्न लगाएका थिए। तर पछि तिनै शर्माले केही पनि गर्न सकिन तिमी राजीनामा दिएर जाउ भनेर राजीनामा दिन बाध्य तुलाएका थिए।

नेपाली सेनाको यति लामो इतिहासमा प्रथम ब्राह्मण समुदायका सेनापति भनेर चिनिएका शर्मा कार्यकालमा नेपाली सेनाभित्र चरम गुटबन्दी र एकअर्काप्रतिको अविश्वास बढाउनमा उनले दरिलो नेतृत्व दिन नसक्नु नै प्रमुख कारक हो।

एक वर्ष त बिरामी भएरै बिताए दोस्रो वर्ष र तेस्रो वर्षमा पनि अनेकौं संकटहरूमा रुमालिए काम गरेको भनेर देखाउनलाई केही नभएपछि फाष्ट ट्याक निर्माणमा प्रगति भयो भनेर मात्रै देखाइएको छ।

नेपाली सेनामा सम्झन लायकको र देखाउन लागेको एउटै पनि काम नगरेको सेनापतिको रुपमा उनी बिदा हुँदैछन्। त्यति मात्र नभएर उनले आफ्ना उत्तराधिकारीलाई जुन किसिमको हस्तान्तरण गर्नुपर्ने थियो कुनै पनि नगरिकन उनीमाथि चुनौतीका चाङ लगाइएको छ।

वैदेशिक सम्बन्धदेखि आन्तरिक कमाण्ड कन्टोलसम्म उनको फितलो नेतृत्वका कारण जुन किसिमका चुनौतीका चाङ नेपाली सेनाका अगाडि आइपरेको छ त्यसलाई छिचोलेर अगाडि बढ्न नयाँ सेनापतिलाई मुस्किल नहोला भन्न सकिन्न।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *