भरतपुर विद्युत‍्का २८१ ग्राहक कालोसूचीमा

डिसी नेपाल
२७ वैशाख २०८३ १८:०९

चितवन। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत महसुल लामो समयसम्म नतिर्ने २८१ ग्राहकलाई कालोसूचीमा राखेको छ। कार्यालयका अनुसार पटक–पटक सूचना जारी गर्दासमेत बक्यौता रकम भुक्तानी नगरेपछि ती ग्राहकलाई कालोसूचीमा राखिएको हो।

विद्युत् कार्यालय प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार ‘६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राख्ने गरेको छ। ‘प्राधिकरणका कर्मचारीले विद्युत् मिटर रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको छ।

सुरुवातमा विद्युत् महसुल वक्यौता धेरै भएका ग्राहकको लाइन काटिन्छ।’ लाइन काटेको ६ महिनासम्म पनि बिद्युत‍्को महसुल नतिर्ने ग्राहकलाई कालोसुचिमा राख्ने गरिन्छ।

लाइन काटीसकेपछि कालोसूचीमा परेका ग्राहकहरूले फेरि ग्राहक बन्नका लागि नयाँ ग्राहक सरह पुरानो पैसा तिरेर आवेदन दिई ग्राहक बन्न पाउने नियम रहेको प्रमुख चौधरीले बताए। यस्तै पछिल्लो समय नागरिकहरु सचेत हुँदै गएको हुँदा विगतका वर्षहरूमा भन्दा कालोसूचीमा पर्नेको संख्या घट्दै गएको उनले बताए। भरतपुर वितरण केन्द्रमा हालसम्म ७५ हजार ग्राहक रहेका छन्।

यसैगरी भरतपुर विद्युत कार्यालयमा सेवाप्रवाहलाई सहज बनाउन ‘एकद्वार प्रणाली’ कार्यान्वयन गरिएको छ। ग्राहकहरुको सहजताका लागि कार्यालयले ‘एकद्वार प्रणाली’ कार्यान्वयन गरिएको हो।

बिद्युत कार्यलयका प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार पहिले सेवाग्राहीले एउटा कामका लागि विभिन्न टेबल र फाँट धाउनुपर्ने बाध्यता थियो। कुन फाँटमा जाने, कुन नम्बरमा पुग्ने भन्ने अन्योलका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको अवस्था अहिले हटाइएको उनले बताए।

प्रमुख चौधरीले अहिले एकद्वार प्रणाली लागू भएपछि एउटै स्थानबाट आवश्यक जानकारी र सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए। यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै काम छिटो र व्यवस्थित रूपमा सम्पन्न हुन थालेको उनले उल्लेख गरे।

उनले सेवामैत्री वातावरण निर्माण गर्दै नागरिकलाई सरल, छिटो र प्रभावकारी सेवा दिन विभिन्न सुधारका काम अघि बढाइएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *