महालक्ष्मीको पूजा आराधनासँगै १५ दिने बडादशैं सम्पन्न, आज रातभर जाग्राम बसिने

डिसी नेपाल
९ कार्तिक २०८३ ६:३३
8
Shares

काठमाडौं। धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी यंदाे कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको १५ दिन लामो बडादशैँ (दुर्गा पक्ष) आज महालक्ष्मीको पूजासँगै औपचारिक रूपमा समापन भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्र अनुसार गर्नुपर्ने सम्पूर्ण बलिपूर्ति (अखिल बलिपूर्ति) को काम पनि आइतबार नै सम्पन्न भएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम सकिएको छ। आइतबारै देवीको प्रसाद मानिने जमरालाई नजिकैको नदी, तलाउ, पोखरी वा पवित्र तीर्थस्थलमा लगी विधिपूर्वक सेलाइएको छ।

कोजाग्रत पूर्णिमाको रात महालक्ष्मी पृथ्वी भ्रमणमा निस्कने र जो मानिस राति जाग्राम बसेर पूजा आराधना गर्छ, उसैको घरमा प्रवेश गरी धनधान्य एवं ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ। समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईका अनुसार माता दुर्गाका तीन रूपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गर्ने परम्परा छ।

कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिनअगावै महालक्ष्मीको आराधना गरिने भएकाले यो पूर्णिमाको विशेष महत्त्व रहेको छ। कौमुदी पूर्णिमाका नामले समेत चिनिने यस दिन सायंकालमा महालक्ष्मीका साथै हात्तीमा चढेका देवराज इन्द्रको पनि पूजा आराधना गरिएको छ। धर्मशास्त्र अनुसार यस रात जुवा खेल्ने विधान समेत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *