प्रधानमन्त्री बालेन शाह एनपिएलको उद्घाटन समारोहमा सहभागी हुने
काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सहभागी हुने भएका छन्। आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री शाहको उपस्थिति आइतबार अबेर सुनिश्चित भएको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (सोमबार) देखि प्रतियोगिता औपचारिक रूपमा सुरु हुँदैछ। यस वर्षको एनपिएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ भने यस प्रतियोगितामा आठ वटा टिमहरूको सहभागिता रहेको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू काठमाडौंस्थित कीर्तिपुर मैदानमै हुनेछन्।
क्यानले यस पटक पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ। जसअनुसार प्रतियोगिताको विजेताले १ करोड ५० लाख रूपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ। त्यसैगरी, तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका शीर्ष चार टोलीका लागि मात्रै कुल ३ करोड रुपैयाँ पुरस्कार छुट्ट्याइएको छ।
एनपिएलको तेस्रो संस्करणलाई अघिल्ला संस्करणभन्दा थप प्रतिस्पर्धात्मक, भव्य र व्यावसायिक बनाउने उद्देश्यसहित विभिन्न महत्त्वपूर्ण सुधारहरू गरिएको क्यानले जनाएको छ। यस संस्करणमा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर तथा बंगलादेशका शाकिब अल हसनजस्ता विश्व क्रिकेटका चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले प्रतियोगिताप्रति खेलप्रेमीहरूको उत्साह अझ बढाएको छ।
साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता, डिसिजन रिभ्यु सिस्टम (डिआरएस) को अत्याधुनिक प्रविधि प्रयोग, विदेशी खेलाडी अनुबन्ध प्रक्रियामा थप सहजता तथा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिलाई यस संस्करणका प्रमुख विशेषताका रूपमा हेरिएको छ। क्यानका यी कदमहरूले एनपिएललाई अन्तर्राष्ट्रियस्तरको व्यावसायिक टी–२० लिगको रूपमा स्थापित गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment