‘हिंसा’ शब्दप्रति संसदमा एमाले र माओवादी केन्द्र आमने सामने
काठमाडौं। सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले संसद बैठक स्थगित भएको छ।
प्रतिनिधिसभाको यही भदौ १२ गतेको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र)को तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा हिंसा भएको उल्लेख गरेका थिए।
सो बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसदहरुले त्यसप्रति आपत्तिप्रकट गर्दै संसद्को रेकर्डबाट उक्त शब्द हटाउन माग गरेका थिए।
सभामुख देवराज घिमिरले हिंसा शब्दका बारेमा अध्ययन गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिएका थिए। उनले आजको बैठकमा हिंसा शब्द असंसदीय नरहेकाले रेकर्डबाट हटाउन नपर्ने सदनलाई जानकारी गराएका थिए।
सो लगत्तै माओवादी केन्द्रका सांसदहरुले संविधानविपरीत हिंसा शब्द प्रयोग गर्न दिएको भन्दै आसनबाट उठेर विरोध जनाए। सभामुखले समय दिएपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सांसद देवेन्द्र पौडेलले हिंसा शब्दको प्रयोगले माओवादीको सशस्त्र द्वन्द्वलाई होच्याउने काम गरेको भन्दै आपत्ति प्रकट गरे।
त्यसैगरी, नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले हिंसा शब्द कुनै व्यक्तिप्रति लक्षित नगरिएको र सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य तथा अमानवीय क्रियाकलापप्रति लक्षित रहेको स्पष्ट पारेका थिए।
बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेपछि सभामुख घिमिरेले बैठकमा कार्यसूची अघि बढाउन पटकपटक आग्रह गरे। सभामुखले आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरु उभिरहेपछि आजको बैठक स्थगित गरिएको हो।







डिसी नेपाल







Facebook Comment