राष्ट्रियसभाः प्राकृतिक विपद् पीडितलाई समयमै राहत उपलब्ध गराउन माग

डिसी नेपाल
३१ भदौ २०८१ १४:२९
20
Shares

काठमाडौं। सांसदहरुले बाढी, पहिरो, डुबान, हिमपहिरोलगायतका प्राकृतिक विपद्बाट पीडित भएकालाई समयमै राहत उपलब्ध गराउन माग गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले पीडितले समयमै राहत पाउन नसक्दा उनीहरुको जीवन कष्टकर बन्दै गइरहेको उल्लेख गर्दै यथाशीघ्र राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए।

बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले कैलालीमा बाढीका कारण बासस्थान असुरक्षित बनेको र कृषि क्षेत्रमा असर गरिरहेको बताए।

सांसद सोनाम गेल्जेन शेर्पाले हिमपहिरोका पीडितले हालसम्म राहत पाउन नसकेको र बासस्थान सुरक्षित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। “हिमपहिरोका पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन्, बासस्थान सुरक्षित छैन, तसर्थ उनीहरुको पुनःस्थापना र पीडित परिवारका लागि सरकारले समयमा नै क्षतिपूर्ति उपलब्ध गराउन सकोस्”, उनले भने।

सांसद युवराज शर्माले राष्ट्रिय गौरवको आयोजनाको काम तोकिएको समयभन्दा बढी लाग्दा आयोजनाको लागत बढ्ने भन्दै समयमै आयोजना निर्माणको काम सम्पन्न गर्न सुझाव दिए । सांसद राजेन्द्रलक्ष्मी गैरै र सांसद सुरेशकुमार आलेमगरले पनि शून्य समयमा आफ्नो धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *