तलेजु भवानीको मन्दिर शुक्रबार सर्वसाधारणका लागि खुला
काठमाडाैं। हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर शुक्रबार सर्वसाधारणका लागि खुला गरिएको छ। तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।
तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ। तलेजु भवानी मन्दिर वसन्तपुर दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो।
मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एकपटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला गरिँदै आएको छ। यसैले गर्दा पनि भक्तजनको भीड लाग्ने गरेको स्थानीय राजन महर्जनले जानकारी दिए।
हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा तलेजुका साथै जगन्नाथ, शिवपार्वती, ठूलो घण्टा, कालभैरव, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत सम्पदा छन्।
तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा-अर्चना गरिन्छ। तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ। तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पूजिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment