कविता : नेता

भूमिका गैरे, तिमिल्सिना
२६ कार्तिक २०८१ ११:००
28
Shares

भएका कलकारखाना सब बन्द छन्
सबै आ-आफ्नै धुनमा मस्त छन्
कसले कसलाई भन्ने हो खै, मान्छे भेटिएन
समस्याको समाधान कसले गर्छ मान्छे तोकिएन
तैं चुप मैं चुपको नीति बनाए जस्तो छ
हाम्रा देशका नेता तिमी कस्ता भयौ
घ्यु निस्किएपछिको बिलौनी जस्ता भयौ।

हेर्दा अचम्म लाग्छ तिमीहरुको लिला
विदेश पलाएन छन् बच्चा कलिला
न त तिनलाई खै रोक्न सक्यौ
भविष्य सुरक्षित न गर्न सक्यौ
हाम्रा देशका नेता तिमी कस्ता भयौ
वर्षायामको भेलबाडी जस्ता भयौ।

श्रमशील पाखुरा बाहिर पठाई
वृद्ध बसेछन् माखा धपाई
चाडवाड आउँछन् गाउँघर शून्य
देशले चाहेको निकास न दिन सक्यौ
युवाको जमात न रोक्न सक्यौ।
हाम्रा देशका नेता तिमी कस्ता भयौ
प्यारालाइसिस भएको शरीर जस्ता भयौ।

चुनावमा मात्र सल्बलाएको देख्दा
नीति र योजना त्यतिबेला फेक्दा
जनताको दिमाग क्या! मस्त भुट्यौ
नानीदेखिको बल गरी तिमीले जित्यौ
विश्वास हेर तिमी आफैंमा छैन
तिमीनै बोलेका है तिम्लाई थाहा छैन
हाम्रा देशका नेता तिमी कस्ता भयौ
पञ्चवर्षीय भगवान् जस्ता भयौ।

न गुड्ने मोटर न उड्ने सुरक्षित
कहालीलाग्दो भो दिनदिनको खबर
यो मेरो र तेरोको बाँडफाँड त्यस्तै
तलदेखिनै तालमेल छ उस्तै
दिक्क लाग्दो छ परिपाटी र सिष्टम
जता हेर्यो कुर्चीकै छ सिष्टम
हाम्रा देशका नेता तिमी कस्ता भयौ
नुन हाल्न बिर्सिएको तरकारी जस्ता भयौ ।

बेथिति र बिसङ्गती मैलाएको देख्दा
अराजकता चारैतिर फैलिएको देख्दा
दु:खद खबर सुन्नै नपरे हुनी
न्युनीकरण गर्न कस्को मन हो छुनी
एक से एक छन् सबै भए खास
देशको ढुकुटी रित्तिसक्यो सबै सत्यानाश
भाषण सुन्दा मन्त्रमुग्छ पार्छन्
खोक्रो आश्वासन बाँड्न जहाँ पनि पुग्छन्।
हाम्रा देशका नेता तिमी कस्ता भयौ
धार मेटिएको भुत्ते खुकुरी जस्ता भयौ

परिवर्तन होला आश मरेको छैन
ऊर्जाशील शक्ति आउला आश मरेको छैन
सबै मिलेर सिङ्गार्नु पर्छ हेर
अझै काम गर्नु छ धेर
सगरमाथाको देश भनि चिनियो विश्वमा
शान्तिको देश भनि फिजियो विश्वमा
हाम्रो देशका नेता तिमी इमान्दार हुनुपर्छ
वलिदान र त्यागको मूल्य बुझ्नुपर्छ
देशको माटोलाई माया गर्ने हुनुपर्छ।

गैंडाकोट ४, नवलपुर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *