प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेशको लगातार दोस्रो जित
फाप्ला(कैलाली) कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा लगातार आफ्नो दोस्रो खेलमा विजयी भएको छ। आज भएको खेलमा कोशीले मधेस प्रदेशलाई ४७ रनले पराजित गरेको हो। कोशीले यसअघि पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो। जितसँगै समूह ‘बी’ मा रहेको कोशी ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
धनगढीस्थित फाप्ला मैदानमा आज भएको दोस्रो खेलमा कोशीले दिएको एक सय ७ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५९ रन मात्रै बनाउन सक्यो। मधेसका लागि प्रतिमा शाहले सर्वाधिक १७ रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ कोशीका लागि कप्तान रूविना क्षेत्रीले ३ तथा अलिशा खडिया र ज्योती दनुवारले दुई दुई विकेट लिइन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ६ रन बनायो। उसका लागि कप्तान रूविना क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाइन्। यस्त टिका शाहले २१ रन बनाइन्।
बलिङतर्फ मधेसका लागि प्रतिमा साहले दुई विकेट हात पारिन्। कोशीकी कप्तान रूविना प्लेयर अफ दी म्याच भइन्। आजै भएको अर्को खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment