पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता
कास्की। पोखरा रंगशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरूषतर्फ छ र महिलातर्फ छ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ट्रफी आज यहाँ आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अनावरण गरे।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार सहभागी हुने अधिकांश टोली पोखरा आइसकेका छन्। ‘सम्पूर्ण तयारी सकिएकाले शनिबार भव्य रूपमा प्रतियोगिता उद्घाटन गर्दैछौँ’, उनले भने।
प्रतियोगितामा विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र पुरूषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरूक्षेत्रको टिम सहभागी हुनेछन्। पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन्। च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउने ज्ञवालीले उल्लेख गरे। उनका अनुसार द्वितीय टोलीले समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय टोलीले रु एक लाख ८५ हजारा पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्नेछन्।
महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउने छन्भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
विगतका वर्षहरूमा भन्दा यस वर्षको प्रतियोगता उत्कृष्ट बनाउनेगरी तयारी गरिएको संयोजक ज्ञवालीले बताए। उनले विदेशका उत्कृष्ट टोली र नेपाली टोलीमा समेत रहेका विदेशी खेलाडीको प्रदर्शनले प्रतियोगिता रोचक बन्ने अपेक्षा गरे।
प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकहरूलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्न विगतमा भन्दा प्यारापिटको क्षमता विस्तार गरिएको, समयानुकूल डिजिटल प्रविधिमैत्री बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास भएको प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment