२०८४ को चुनावपछि मात्र सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
१५ माघ २०८१ १५:५३
524
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावपछि मात्रै सरकार परिवर्तन हुने स्पष्ट पारेका छन्।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केहिले सरकार ढल्छ भन्दै पटक-पटक मिति तोक्ने काम गरेको भन्दै २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने स्पष्ट पारेका हुन्।

सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए। ओलीले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरु प्रकारका अराजकताका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको स्पष्ट पारे।

उनले राष्ट्रिय राजनीति लोकतान्त्रिक मूलधारको एउटा ट्रयाकमा अगाडि बढे पनि केही भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टि जनाए।

उनले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको धारणा राखे। उनले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताए।

ओलीले सदनमा तथ्य र तर्कका आधारमा संयमित र जिम्मेवाररुपमा प्रस्तुत हुन तथा प्रभावकारी उपस्थिति जनाउन सांसदलाई आग्रह गर्दै अरुले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन दिए।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश र विद्यमान कानुनमा गरिएको संशोधनको आवश्यकताबारे प्रकाश पारेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *