आज संसद‍्मा अध्यादेश निर्णयार्थ प्रस्तुत नहुने

डिसी नेपाल
२४ माघ २०८१ १३:३२
192
Shares

काठमाडौं । आजको संसद्‌‌मा अध्यादेश निर्णयार्थ प्रस्तुत नहुने भएको छ। समय अभाव भएको भन्दै ६ अध्यादेश पेस गर्ने कार्यसूची हटाएको हो।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएसँगै दुवै सदनको कार्यसूची फेरिएको हो। कानुनमन्त्री चौरसियाले नयाँ बानेश्वर नै पुगेर सभामुख घिमिरेलाई प्रधानमन्त्रीको सन्देश सुनाएका थिए।

माघ १८ बाट हिउँदे अधिवेशन सुरु भएको थियो। त्यसमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका थिए।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका थिए। सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुव्वा गुरुङले सुशासन प्रवर्धन सम्बन्धी अध्यादेश पेस गरेका थिए।

ती अध्यादेश आज संसद‍्का दुवै बैठकमा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको थियो।

सरकारले ल्याएको अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत हुनुपर्छ। अध्यादेश स्वीकृत भए संसद् सुरु भएको ६० दिनसम्म जीवित रहन्छ। तर, अस्वीकृत भयो भने तत्कालै अध्यादेश निष्क्रिय हुने व्यवस्था छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *