सरकार निरंकुश सोचमा अघि बढिरहेको छ : प्रचण्ड

डिसी नेपाल
२४ माघ २०८१ १४:४७
48
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन्। प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ। राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ। सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ। यो सत्ताको घमन्ड हो कि जनतासँग डर?’

पाथिभरा केवलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उनले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ? भनेर प्रश्न गरे।

टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईंहरूले नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेलाई थुन्ने र मुद्दा चलाउउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरंकुश सोच भएको उनले बताए। ‘यो के हो? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरू? संविधानभन्दा माथि हो? तपाईंहरू मालिक र नागरिक दास हो?’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *