दशौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु

डिसी नेपाल
२८ माघ २०८१ २३:३२
60
Shares

म्याग्दी । बेनीमा आजदेखि दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो।

जिल्लामा रहेका स्थानीय तहहरूमा पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा जिल्लामा रहेका छ स्थानीय तहबाट छनोट भएका छ सय खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्टतर्फ ९० पदकमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रदेशस्तरमा हुने खेलका लागि खेलाडी छनोट गर्न र विद्यार्थीमा खेल क्षमता विकास गरी प्रतिस्पर्धा बनाउन प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विद्यालय तहमा पहिचान हुने प्रतियोगिताले विद्यार्थीको खेल क्षमता र प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउन सघाउने बताए। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ सिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

जिल्लाबाट उत्कृष्ट भएका खेलाडीले आगामी फागुनको ५ र ६ गते गोरखामा हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागिता जनाउने समितिका कोषाध्यक्ष योगेन्द्रमान गौचनले जानकारी दिनुभयो। उहाँका अनुसार भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्सलआर्टबाट ३६ र एथलेटिक्सबाट २४ खेलाडीहरू छनोट हुनेछन्।

रामेछापमा १२औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

रामेछापको मन्थलीमा आजदेखि जिल्लास्तरीय १२औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका सात पालिकाबाट विद्यार्थी खेलाडी सहभागी भएका छन्।

प्रतियोगितामा छात्रछात्रातर्फ भलिबल, एथलेटिक्स, मार्सलआर्ट, कबड्डीलगायत खेल खेलाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए। उनका अनुसार आज प्रतियोगितको उद्घाटन बागमती प्रदेशसभाका सांसद आनन्दकुमार श्रेष्ठले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *