चाबहिलमा चक्कु प्रहारबाट युवकको निधन, तीन जना पक्राउ

डिसी नेपाल
२९ माघ २०८१ १६:१३
1.8k
Shares

काठमाडौं । चाबहिलमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। आइतबार बिहान ६ बजेतिर काठमाडौं महानगरपालिका-७ कुमारीगाल उमा महेश्वरीमार्गमा युवाहरूको दुई समूहबीच झगडा भएको थियो।

एउटा समूहले मोबाइल चोरी गरेको अर्को समूहले देखेपछि खोस्न खोज्दा झडप भएको थियो। झगडामा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९, पानीट्यांकी घर भई हाल गोकर्णेश्वर नगरपालिका-६, नयाँबस्ती बस्ने २३ वर्षीय अमृत भन्ने संघर्ष कार्कीको मृत्यु भएको हो।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्काल सिनामंगलस्थित केएपसी अस्पतालमा उपचारको लागि लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मंगलबार हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। अर्का घाइते १६ वर्षीय क्षितिज कार्कीको हात, पिठ्युँ र तिघ्रामा चोट लागेको छ। उनलाई अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ।

घर झापा भद्रपुर नगरपालिका २ घर भएका १९ वर्षका क्षितिज हाल गोकर्णेश्वर नगरपालिका ६ बस्दै आएका छन्।

घटनास्थलबाट भाग्दै गरेका दोलखाको जिरी नगरपालिका १ स्थायी घर भई हाल कपन सिमलटार बस्ने २२ वर्षका युनिक लामा भन्ने नुर्वु शेर्पा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ घर भइ हाल गोकर्णेश्वर नगरपालिका ८ बस्ने २० वर्षका विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

घटनामा प्रयोग गरिएको धारीलो हतियार चक्कु पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका व्यक्तिमाथि ज्यानसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको छ। पक्राउ सबैलाई गौशाला वृत्तको हिरासतमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *