नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत होः राष्ट्रपति
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत भएको बताएका छन्।
नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीतसमाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने स्पष्ट पारेका छन्। उनले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएकोसमेत उनले बताए।
उनले भने, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’ राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गरेका छन्।
मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने राष्ट्रपति पौडेलको भनाई थियो। उनले भने, ‘यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो। त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसंगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ।’

राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पु¥याउनुभएको योगदान अनुकरणीय रहेको बताए। ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीतसंगीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ। विशेषत् उनका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ,’ उनले भने।
सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुुरस्कार, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार वितरण गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment