प्रचण्डको चेतावनी- जनयुद्ध मेटाउन प्रयास गर्ने खरानी हुन्छन्
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ३०औं ‘जनयुद्ध दिवस’का अवसरमा उनले यस्तो चेतावनी दिएका हुन्।
हजारौं सहिददको बलिदान, रगत, हजारौं बेपत्ता योद्धाको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौंसयौं वर्षसम्म रहने उनको भनाइ छ। ‘कसैले मेटाएर यो इतिहास मेटिने छैन। जसले मेटाउने दुस्साहस गर्छ, उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने।
यसलाई राष्ट्रिय दिवसका रूपमा अगाडि लैजानुपर्ने उनले बताए। ‘जनयुद्ध’माथि अझै पनि प्रहार भइरहेको प्रचण्डको आरोप छ।
‘जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो। यसलाई राष्ट्रिय दिवसकै रूपमा हामीले अगाडि लैजानुपर्छ। जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरू पनि भएका छन्,’ उनले भने।
प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको समेत प्रचण्डले औंल्याएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment