हुन्डी कारोबार गरेको आरोपमा पर्साबाट १० लाखसहित भारतीय पक्राउ
काठमाडौं । पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-१ का २२ वर्षीय नेहाल कुमार रहेका छन्।
वीरगन्ज महानगरपालिका-८ स्थित लिंक रोडबाट कुमारलाई आइतबार दिउँसो पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले टोलीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो।
कुमारको साथबाट नगद १० लाख रुपैयाँ बरामद भएको एसपी मिश्रले बताए। कुमारलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको एसपी मिश्रले बताए।
‘रकमको स्रोत खुल्न नसकेपछि कुमारलाई पक्राउ गरी अनुसन्धान थालिएको छ,’ मिश्रले भने।
प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यस्तो कारोबारलाई ‘गैरकानुनी’ मानिएको हो।
नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा संलग्न हुने गरेका छन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्याइदिने चाँजो मिलाउँछन्।
‘हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ,’ एसपी मिश्रले भने।
हुन्डीको प्रमुख स्रोत रेमिट्यान्सलाई मानिने गरिए तापनि नेपाल-भारत सीमामा यस्तो कारोबार गर्नेहरू अत्यधिक छन्।
यस्तो कारोबार गर्नेहरूलाई राष्ट्र बैंकको वित्तीय ऐनका साथै सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ समेत अनुसन्धान गरिने गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment