चिकित्सा क्षेत्रको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ओम मूर्तिलाई, अरु कसलाई के?

डिसी नेपाल
७ फागुन २०८१ १२:५२
248
Shares

काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो। टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा)ले पुरस्कृत घोषित भएका छन्।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा. ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन्।

पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ। नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट रु एक करोड थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो।

उक्त कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो। २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो। त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *