वाणिज्य विभागद्वारा बजार अनुगमन: तीन व्यापारिक फर्मलाई जरिवाना, तीनलाई कागजातसहित उपस्थित हुन निर्देशन

डिसी नेपाल
२७ असोज २०८३ ७:५९
44
Shares

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न सत्ताइस वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण कार्य सम्पन्न गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार गरिएको उक्त अनुगमनका क्रममा कैफियत भेटिएका तीन वटा फर्मलाई तत्काल जरिवाना गरिएको छ भने अन्य तीन वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन कडा निर्देशन दिइएको छ।

विभागले सार्वजनिक गरेको आधिकारिक विवरणअनुसार तारकेश्वर नगरपालिका-११ स्थित आराध्या मसला तथा किराना पसललाई बीस हजार रुपैयाँ र बुढानिलकण्ठ नगरपालिका-१० स्थित जोशी किराना स्टोरलाई बीस हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी, बुढानिलकण्ठ-१० मा नै सञ्चालित सुदुर सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ।

यसैगरी, लाजिम्पाटमा रहेको कुरीलो प्राइभेट लिमिटेड, चावहिलस्थित अस्केटचा तथा नेपालटारमा सञ्चालित जय पशुपति काठ तथा प्लाई उद्योग प्राइभेट लिमिटेडलाई आवश्यक कागजातहरू साथमा लिई विभागमा उपस्थित हुन निर्देशन जारी गरिएको छ।

अनुगमन गरिएका बाँकी एक्काइस वटा फर्म तथा उद्योगहरूलाई भने व्यवसाय सञ्चालनका क्रममा देखिएका सामान्य कमजोरीहरूलाई तत्काल सच्याउन निर्देशन दिइएको छ। सामान्य निर्देशन प्राप्त गर्नेहरूमा भाटभटेनी सुपरमार्केटको मध्यपुर थिमी शाखा, खड्का ग्यास डिपो, लमजुङ इलेक्ट्रोनिक्ससहित विभिन्न फेसन स्टोर, खाद्य पसल तथा एग्रो फर्महरू रहेका छन्।

विभागले आसन्न चाडपर्वका साथै नियमित बजार अनुगमनलाई थप तीव्रता दिँदै उपभोक्ताको हितविपरीत काम गर्ने फर्म तथा व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याउने क्रमलाई निरन्तरता दिइने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *