एमालेको टिप्पणी- पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन्।
एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थालेको बताए।
महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे।
‘अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन्,’ महासचिव पोखरेलले भने, ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ।’
राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए।
‘सामन्तवाली राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ।’ पोखरेलले कार्यकर्तालाई भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस्।’
महासचिव पोखरेलले पूर्ण क्रान्ति सफल बनाउन बलिया राजनीतिक शक्ति निर्माण गरिनुपर्ने बताए।
आफूले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको भन्दै उनले आफू दल खोल्न निषेधको पक्षमा नभएको स्पष्ट पारे।
‘मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ। स्थायी सरकार बनाउन सकिन्छ भन्दै आएको छु।’ महासचिव पोखरेलले भने, ‘दल खोल्न प्रतिबन्ध गर्ने होइन, थ्रेसहोल्डको प्रतिशत बढाउनुपर्छ।’
जनता माझ गई चुनाव जितेर सत्ता चलाउन कसैलाई बन्देज नगरिने भन्दै महासचिव पोखरेलले राजनीतिक खुद्रा पसल भने आवश्यक नभएको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment