एमाले सामन्तवादको प्रतिनिधि हो : गुरूङ
पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताएका छन्। शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गुरुङले उक्त कुरा बताएका हुन्।
नेता गुरूङले भने, ‘जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ। यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ। उत्पादन सम्बन्धका आधारमा नै जाति निर्माण हुन्छ। राष्ट्रियता अन्तत: सामाजिक सम्बन्धको स्वरूप नै हो। यसलाई अलग अलग रूपमा बुझ्नु हुँदैन।’
नीजि सम्पत्तिको उत्पत्तिपूर्व वर्गीय विभाजन र जातीय नभएको उनको भनाइ छ। ‘राष्ट्रियता र समाजवादी क्रान्ति एकअर्कासँग निर्भर छन्। समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ। उत्पादनका साधनहरूमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ। यो बुझाइमा हामी स्पष्ट हुन जरूरी छ,’ उनले भने।
भेलामा गुरूङले कम्युनिस्ट आन्दोलनको नेतृत्व माओवादी केन्द्रले मात्र गर्न सक्ने दाबी गरे। ‘एमालेले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्दैन। एमाले सामन्तवादको प्रतिनिधि हो। दलालहरूको पार्टी भइसकेको छ। एमालेबाट समाजवादको कल्पना गर्न सकिन्न, त्यसको नेतृत्व हामीले नै गर्नुपर्छ,’ उनले भने।
भेलामा पूर्वसभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताइन्।
पूर्वसभामुख घर्तीले भनिन्, ‘उत्पीडितहरूको पक्षमा माओवादी पार्टीले अविराम संघर्ष गरेको छ। माओवादी पार्टीको संघर्षकै कारण उत्पीडित जातिहरूले अधिकार पाएका छन्। आज जनयुद्धका उपलब्धी खोस्ने कुचेष्टा भइरहेको छ। त्यसका विरूद्ध निरन्तर संघर्ष जरूरी छ। यो तथ्यलाई हामी सबैले बुझ्नुपर्छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment