‘नो केबलकार समूह’ ले गर्यो थप आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं। ‘नो केबलकार समूह’ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आन्दोलनरत समूहले बिहीबार विज्ञप्ति प्रकाशित गरी १७ गतेदेखि आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका हुन्।
कोशी प्रदेशका १४ जिल्ला, मधेश प्रदेश र राजधानी काठमाडौंमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम छन्। बिहीबार प्रकाशित विज्ञप्तिअनुसार फागुन १७ गते कोशीका १४ वटै जिल्ला र मधेशमा जनप्रदर्शन र विरोधसभा गर्ने कार्यक्रम छ।
फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने उल्लेख छ। साथै उनीहरुले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवारसहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा उजुरी दिने कार्यक्रम घोषणा गरेका छन्।
यसअघि वार्ताका लागि चारवटा प्रस्ताव अगाडि सारेका आन्दोलनरत समूहले गिरफ्तार नागरिकको रिहाई, घाइतेको निःशुल्क उपचार, दोषीलाई कारबाही र मुक्कुम्लुङ क्षेत्रबाट सुरक्षाकर्मी र निर्माण सामग्री फिर्ताको माग गरेका छन्।
यो विज्ञप्तिमा भने मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति संयोजक श्रीप्रसाद लिम्बू, केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ संघीय समिति संयोजक एवं प्रदेश १ पुन: नामांकन संघर्ष समिति संयोजक प्रेम एक्तेन, किरात राई यायोक्खा संघीय समिति जीवन हातासो राई, लिम्बू थरगत संस्था-याक्थुङ सयङ) सहजीकरण समूह संयोजक नन्द कन्दङवा, प्रदेश नम्बर १ पुन: नामांकन अभियान समिति संयोजक डकेन्द्र सिं थेगीम र नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष गेल्जे शेर्पाले हस्ताक्षर गरेका छन्।


No ads found for this position

डिसी नेपाल
Facebook Comment