तस्करी विरुद्ध राजस्व अनुसन्धान कार्यालयको कारबाही
लुम्बिनी। राजस्व अनुसन्धान कार्यालय, बुटवलले खाद्यान्न तस्करी गरी ओसारपसार गर्ने विरुद्ध कारबाही सुरु गरेको छ। तस्करी हुने मुख्य खाद्य वस्तुमा मटर, चिनी, काजु बदाम, गहुँ, तोरीलगायत रहेको कार्यालयले जनाएको छ।
सीमा नाकाबाट मटर तस्करी गरी ओसारपसार गरिरहेको सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालयले गस्ती परिचालन गरी रु ५० लाख बढी जरिवाना तिराएको र बाँकी अनुसन्धान जारी रहेको कार्यालय प्रमुख विवेक घिमिरे जानकारी दिए।
बुटवल–भैरहवा राजमार्गको ठुटिपिपलस्थित एक घरमा तस्करीका सामग्री गोदाम गरी राखेको सूचना प्राप्त भएपछि खटिएको टोलीले भारतीय नम्बर प्लेटको बाइक प्रयोग गरी ओसारपसार गरी भण्डारण गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको थियो। उनीहरुबाट रु २७ लाख मूल्य बराबरको खाद्यान्न बरामद गरिएको छ । निजहरुबाट रु २७ लाख ५० हजार जरिवाना असुल गरी खाद्यान्न जफत गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए।
राजस्व अनुसन्धान कार्यालयले विगत छ महिनामा भारतबाट भन्सार छली गरेर नेपाल भित्रिएको एक हजार सात सय ५० बोरा चिनी बरामद गरी जरिवानावापत रु ७० लाख तिराएको छ। चिनी तस्करी गर्ने केही फर्मका सञ्चालक फरार रहेकाले उनीहरुको खोजी भइरहेको कार्यालय प्रमुख घिमिरेले बताए।
यसै साता एक सय ४५ बोरा चिनी बरामद गरी साधनसहित नियन्त्रणमा लिइएको छ। हालसम्म आठ वटा मुद्दा दर्ता भएका र विभिन्न प्रकृतिका थप १० वटा मुद्दा दर्ताको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment